काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारणसभा तथा १३ औं महाधिवेशनको आज तेस्रो अर्थात् अन्तिम दिन नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । महासंघमा यसपटक नेतृत्वका लागि सल्लाहकार तथा पूर्ववरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामा (एडी) को प्यानल चुनावी मैदानमा छन् ।
उनीहरू आ-आफ्नो प्यानलसहित मैदानमा उत्रिएका हुन् । अध्यक्ष बन्ने दौडमा रहेका पाण्डे कालिका कन्स्ट्रक्सनको सञ्चालक तथा एएसी ब्रिकी उत्पादक संघका अध्यक्ष हुन् । निर्माण व्यवसायीका साथै युवा उद्यमी पनि हुन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेका छोरासमेत हुन् । कालिका कन्सट्रक्सनले निर्माणको क्षेत्रमा थुप्रै ठूलाठूला परियोजना निर्माण गर्दै आइरहेको छ ।
निकोलस पाण्डेको प्यानलले युवाजोस र एसोसिएट क्षेत्रको प्रतिनिधित्वलाई जोड दिएको छ । उनको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रामजी पन्त (मुकेश) देखि सातै प्रदेशका उपाध्यक्षहरूको बलियो टिम छ । जसमा कोशी प्रदेशबाट उपाध्यक्षमा धिरेन्द्र दाहाल, बागमती प्रदेशबाट उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेशबाट उपाध्यक्षमा राजेन्द्र पहाडी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा सहदेव खड्का, कर्णाली प्रदेशबाट उपाध्यक्ष हिमबहादुर बुढा, सुदूरपश्चिम प्रदेशबाट उपाध्यक्षमा भीमबहादुर पाल, एसोसिएट उपाध्यक्षमा नरहरि थपलिया महासचिवमा बलिभद्र राणा, उपमहासचिव (नीतिगत) मा मंगल बहादुर शाही, उपमहासचिव (आन्तरिक) मा सुवित श्रेष्ठ, कोषाध्यक्षमा उज्वल गौतम तथा सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ रहेका छन् ।
एडीले सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनी विगत १५ वर्षदेखि महासंघमा सक्रिय छन् । केन्द्रीय सदस्य, महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै उनी अध्यक्षको दौडमा छन् । उनको कम्पनी पीएस कन्स्ट्रक्सन हो । उक्त कम्पनीले वार्षिक करिब १ अर्बको कारोबार गर्दै ६०० भन्दा बढीलाई रोजगारी दिएको छ ।
लामाको प्यानल अनुभव र पुरानो साख जोगाउने दाउमा छ । लामाको प्यानलमा रोशन दाहाल वरिष्ठ उपाध्यक्ष, एनसी शेर्पा एसोसिएट उपाध्यक्ष, जनक राज तिम्लिसेना उपाध्यक्ष कोशी प्रदेशबाट, हिरण कुमार श्रेष्ठ उपाध्यक्ष बागमती प्रदेशबाट, खिमप्रकाश मल्ल उपाध्यक्ष गण्डकी प्रदेशबाट, मोहनप्रकाश आचार्य उपाध्यक्ष कर्णाली प्रदेशबाट, प्रकाश सेटी उपाध्यक्ष सुदुरपश्चिम प्रदेशबाट रहेका छन् ।
यस्तै, शिवहरि घिमिरे महासचिवका उम्मेदवार बनेका छन् भने सन्तोस शाह उपमहासचिव (आन्तरिक), राजकुमार बास्कोटा उपमहासचिव (नीतिगत), कोषाध्यक्षमा बालाजु श्रेष्ठ छन् । सह-कोषाध्यक्षमा दिनेश सिंह छन् । दुवै प्यानलले आ-आफ्ना प्रतिबद्धता सार्वजनिक गरिसकेका छन् ।
यस्तै, महासंघको जारी महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय उपाध्यक्ष पदमा सहदेव खड्का निर्विरोध भइसकेका छन् । सगुन कन्स्ट्रक्सनका सञ्चालक खड्का निकोलस पाण्डे प्यानलका हुन् । बुधबार उम्मेदवारी दर्ताको कार्यक्रममा लुम्बिनीबाट केन्द्रीय उपाध्यक्षमा खड्काको एकल उम्मेदवारी परेको थियो ।
यसैगरी, प्रमोद लामिछानेले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

