संकल्प गरौं- अब फेरि कसैले रगत बगाउनु नपरोस्

`प्रतिनिधि सभाको यो पहिलो बैठकमार्फत हामी आज नयाँ यात्रा प्रारम्भ गरिरहेका छौं । हामीले आजै शुरुआतमा संकल्प गर्नुपर्छ कि हामी नागरिकमा नयाँ आशा र नयाँ विश्वास जगाउन सकौँ। यो घडीमा म आह्वान गर्दछु- सबैले एव्यवद्धता भएर २००७ सालको क्रान्तिदेखि पछिल्लो जेनजी बिद्रोहसम्म जीवन गुमाएका सबै शहीदलाई स्मरण गरौं । २०४६ को जनआन्दोलन, दस वर्ष लामो सशस्त्र द्वन्द्व, २०६२/६३ को जनआन्दोलन, मधेस आन्दोलन, थरुहट अनि आदिवासी जनजातिका अनेक प्रदर्शन र त्यस क्रममा भएका कयौंको शहादतलाई आज एकमुस्ट स्मरण गरौं । हामी एकै थलोमा भएर पनि भिन्न-भिन्न आस्था र विचार बोकेर यहाँ छौं, तर भिन्न रहे पनि एउटै नौकामा छौं । डुबे सबै डुब्छौँ, सँगै डुब्छौँ; उठे सबै उठ्छौँ, सँगै उठ्छौँ । दल भिन्न होला, देश एउटै हो। त्यसैले आज इमानको पसिना बगाउने संकल्प गरौं, अनि संकल्प गरौं- अब फेरि कसैले रगत बगाउनु नपरोस् ।

संसदीय प्रणाली सबैको साझा बाटो

फागुन २१ को निर्वाचनमा उत्साह साथ ठूलो संख्यामा सहभागी भएर समस्त नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइले लोकतन्त्रप्रतिको बलियो निष्ठा प्रकट गर्नुभएको छ। बीपी कोइरालाले नेपालका लागि सबैभन्दा उपयुक्त बाटो भनेर प्रस्तावित गरेको संसदीय लोकतान्त्रिक प्रणाली सबै राजनीतिक दल, सबै पुस्ता र सबै मतदाताबाट फेरि अनुमोदित भएको छ । कुनै बेला संसदीय प्रणाली तत्कालीन राजाहरूको प्रहारमा परेको थियो; आज राजतन्त्रका पक्षमा रहेका मित्रहरू पनि यही संसदमा अट्नुभएको छ । कुनै बेला संसदीय प्रणाली ढालेर बल प्रयोगबाट राज्यसत्ता कब्जा गर्ने ऐलान गरेको माओवादी पार्टीका मित्रहरू पनि आज यही संसदमा शान्त, भद्र र भलाद्मी भएर बस्नुभएको छ। कुनै बेला काँग्रेसले अपनाएको बाटोको विपक्षमा खरो उभिएर 'अब दलहरूबाट देश चल्दैन' भन्ने मित्रहरू पनि नयाँ दल खोलेर, सबैभन्दा ठूलो दल बनेर यहाँ उपस्थित हुनुहुन्छ।

रुखको साझा छहारी जस्तो यो संसदीय प्रणालीमा आज तपाईं सबैलाई स्वागत गर्न पाउँदा म हर्षित छु। नेपाली काँग्रेस निर्वाचनबाट दोस्रो दल बनेपनि पार्टीले बोकेको सिद्धान्त, विचार र बाटो अझ सबल र सफल बनेको छ। यो घडी काँग्रेस पार्टीका प्रत्येक सदस्यले विशेष सन्तोष व्यक्त गर्न मिल्ने घडी हो। म यतिबेला ती प्रत्येक साथीलाई यो रोस्ट्रममा उभिएर स्मरण गर्न चाहन्छु।

सबैलाई बधाई, सबैलाई शुभकामना

नेपाली काँग्रेस 'निरन्तरतामा नवीनता' भन्ने दृष्टिकोण राख्दछ। त्यसैले हरेक कालखण्डमा, कि त हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गर्दै आएको छ, कि त अरूले उठाएको जायज मुद्दालाई निष्कर्षमा काँग्रेसले नै पुर्याएको छ। त्यस हिसाबले काँग्रेस जेनजी विद्रोहले उठाएका मुद्दालाई पनि निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ। एक जिम्मेवार प्रतिपक्षी दलको रूपमा यो परिवर्तनलाई साथ दिन, सघाउन र खबरदारी गर्न काँग्रेस प्रतिबद्ध छ।

परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर नेपाली काँग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको म यहाँ स्मरण गराउन चाहन्छु। बीपी कोइरालाले नेतृत्व गरेर प्रारम्भ भएको काँग्रेस सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै आज विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र समाज अनुरुपको रुपान्तरणमा प्रवेश गरेको छ।

तर छोटो समयमा परिवर्तनको सन्देश नागरिक पंक्तिमा पुर्याउन सकिएन। आगामी दिनमा आफूभित्र, आफ्नो दलभित्र, सबै दलभित्र र समग्र राजनीतिक शैली र व्यवहारलाई देशमा भएको परिवर्तन अनुरूप रुपान्तरण गरेर अघि बढ्नुपर्छ भन्नेमा प्रमुख प्रतिपक्षी दलको रूपमा हामी प्रष्ट छौं।

अतः यो घडी पहिलो दलका रूपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्व, नयाँ प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि म नेपाली काँग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट पनि शुभकामना दिन चाहन्छु। फागुन २१ मा सम्पन्न निर्वाचनबाट निर्वाचित सबै दलका प्रत्येक सदस्यलाई पनि म बधाई ज्ञापन गर्दछु।

null

आशालाई विश्वासमा बदलौँ

यो संसदले एक ढिक्का रहेर गर्नुपर्ने मुख्य काम भनेको नागरिक पंक्तिमा आशा र विश्वास निरन्तर जगाउने र जोगाउने हो। बितेको ३५ वर्षमा “देशमा केही भएन” भन्ने निराशाको भाष्य जनजनमा पुगेको छ। यसलाई हामीले चिर्नु आवश्यक छ।

बितेको ३५ वर्षको अवधिलाई फर्केर हेरौंः दस वर्ष लामो सशस्त्र द्वन्द्व भयो, हजारौंको मृत्यु भयो र अर्बौंको ध्वंस भयो । राजाले निर्वाचित सरकार भंग गरेर निरंकुश सत्ता चलाए । देशले दुई/दुई पटक भूकम्पको सामना गर्यो, हजारौंको मृत्यु भयो र अर्बौंको क्षति भयो । विश्वव्यापी कोरोना महामारीले हाम्रो देशलाई पनि प्रभावित गर्यो, हजारौंको मृत्यु भयो र अर्थतन्त्र जोखिममा पर्यो ।

यस्तो अनेक प्रतिकुलता र संकटका बीच पनि देशमा केही प्रगतिका काम भएका छन्। म मेरै गाउँका, तपाईंको गाउँका आमाबुबा, दिदीबहिनी, दाजुभाइलाई यहीँबाट आग्रह गर्न चाहन्छु- गाउँमा आएको बाटो ०४६ को परिवर्तनपछि आएको हो कि होइन ? टुकि र दियालोमा बलेको बिजुलि यही अवधिमा जोडिएको हो कि होइन?
आज धेरै गाउँमा पुगेको खानेपानी सुविधा यही अवधिमा निर्माण गरिएका परियोजना र धाराबाट आएको हो कि होइन ? गाउँमा खुलेका स्वास्थ्य चौकी र बीमा नीति यही अवधिमा शुरु भएको हो कि होइन ? दुर्गम गाउँको हातहातमा पुगेको संचार सुविधा देशमा केही नभएको उदाहरण हो कि केही शुरुआत भएको नमूना हो ?
बैंक, वित्तीय संस्था, एयरलाइन्स, संचार माध्यम लगायत निजी क्षेत्रको विस्तार यही अवधिमा भएको प्रगति होइन र ?

हो, यसभन्दा बढी हुनसक्थ्यो, हुनुपर्थ्यो । तर अनेक प्रतिकुलता र शासकीय कमजोरीका कारण हुन सकेन । यसप्रति हामी आत्मालोचित छौं । तर जो भए, ती सबै हाम्रो प्रयासले सम्भव भएको हो । अर्थात् केही भएन भन्ने निराशा सत्यमा आधारित छैन । हामीले भएको कुरा नागरिकलाई बुझाएर, गर्न बाँकी कामहरू पूरा गर्ने संकल्प गर्नुपर्छ। यो संसदले त्यो यात्रामा नागरिकलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ ।

भदौ २३ र २४ को प्रश्न

आज हामी जहाँ यो बैठक बसिरहेका छौं, यो हाम्रो संसद भवन होइन । हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो । यो बेला त्यो खरानीलाई सम्झौँ, अनि संकल्प गरौं कि भविष्यमा देशलाई खरानी बनाउन कोही अघि नसरुन् । किन खरानी भयो संसद भवन? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेक भौतिक संरचना? म सभामुख महोदय र सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु- भदौ २३ र २४ दुवै दिनका घटनालाई एक-एक केलाउन आवश्यक छ।

null

कसैले २३ को घटना देख्ने, २४ को नदेख्ने; कसैले २४ को ध्वंस देख्ने, २३ को दमन नदेख्ने- यो प्रवृत्ति गलत छ । सरकारले बनाएको जाँचबुझ आयोगले २३ को अनुसन्धान गरेर कारबाही सिफारिस गर्यो, तर २४ को अनुसन्धान गर्न सकिएन । पटक-पटक समय थप्ने तर समय पुगेन भन्ने काम आयोगमा रहेका व्यक्तिहरूको नियतवश नभएको देखिनु पर्ने थियो ।

नयाँ प्रधानमन्त्रीलाई म ध्यानाकर्षण गराउन चाहन्छु- जाँचबुझ आयोगको प्रतिवेदन सरकार स्वयं सार्वजनिक गर्ने कि गोरखापत्रमा मात्र पढ्ने ? सरकारले कानुन र प्रक्रियाको मर्यादा राखेर प्रस्तुत गरोस्। काँग्रेसको मान्यता अनुसार दोषी कोही उम्किनुहुँदैन, निर्दोष कोही फस्नु हुँदैन।

सुशासन र समुन्नतिको यात्रा

भविष्यमा जेनजी विद्रोह जस्ता घटनाहरू नदोहरियोस् भनेर हामीले नयाँ र दुरदर्शी ढंगले सोच्न र काम गर्न जरुरी छ। किन बितेको ७५ वर्षमा कुनै प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन्? म अनुसन्धान गर्छु, आजको नयाँ प्रधानमन्त्रीको नियत कस्तो छ ? बरु म उहाँलाई पूरा कार्यकालका लागि शुभकामना दिन्छु। तपाईंलाई देशको भलाइका लागि हाम्रो प्रष्ट साथ रहनेछ। तर संविधान विपरीत कुनै कदम भए, नागरिकको अपेक्षाको विपरीत कार्य भए, हामी खबरदारी गरेर अघि उभिनेछौँ। नयाँ संसद र नयाँ सरकारले समाजमा आपसी सद्भाव, राज्य प्रशासनमा सुशासन र समग्र समुन्नतिको यात्रालाई गतिशील बनाउन ध्यान केन्द्रित गर्नुपर्छ।

आज एसईई परीक्षा दिइरहेका विद्यार्थीहरूलाई शुभकामना दिँदै म सरकार, संसद र सबै राजनीतिक दललाई आग्रह गर्दछु- उनीहरूको सफलता केवल उत्तरपुस्तिकामा के लेख्छन् भन्नेमा मात्र होइन, संसद र सरकारले के गर्छ भन्नेमा पनि निर्भर छ । हामीले काम गर्दा ती किशोर-किशोरीको भावना र भविष्यलाई केन्द्रमा राख्नुपर्छ ।

(नेपाली कांग्रेसका नेता प्रतिनिधि सभा सदस्य भिष्मराज आङ्दम्बेले प्रतिनिधि सभा बैठकमा राखेको मन्तव्य)
 

Share News