काठमाडौं । ८ महिनामा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आयमा ९.५ प्रतिशत वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि गत वर्षको फागुन महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो ।
अमेरिकी डलरमा आधारमा पनि विप्रेषण आय ३१ प्रतिशतले बढेर १० अर्ब १५ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो वृद्धि ७.१ प्रतिशत थियो ।
यसै अवधिमा खुद ट्रान्सफर १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा यो रकम ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ र पुनः स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ नेपालीले स्वीकृति लिएका थिए ।