काठमाडौं । ८ महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा १२ अर्ब ५९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ८ महिनामा ३६ अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड बराबरको रुपैयाँ हकप्रद सेयर, ७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर, ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ र २ करोड २९ लाख रुपैयाँ बराबरको अन्य गरी कुल ७० अर्ब ४६ करोड रुपैयाँ बराबरको थप सेयर नेप्सेमा सूचीकृत भएको छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २३ अर्ब १३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ अर्ब ७० करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल ३७ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
फागुन मसान्तमा नेप्सेमा सूचीकृत ९ अर्ब २६ करोड सेयरको चुक्ता मूल्य ९ खर्ब ११ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।
फागुनसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २८६ रहेको छ । जसमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत् कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । गत वर्षको फागुनमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.२ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.८ प्रतिशत रहेको छ ।