काठमाडौं । ईङवा हाइड्रोपावर कम्पनीको सेयर ‘लकइन’ अवधि २०८३ वैशाख २६ गते सकिने भएको छ । संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीको गरी कुल ४५ लाख ३६ हजार ७०३ कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार संस्थापक सेयरधनीको ४२ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ३ लाख ६ हजार ८४० कित्ता र कर्मचारीको २९ हजार ८६३ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
यद्यपि, सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरूले भने सेयर खरिद–बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार आईपीओ बाँडफाँडपछि तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई छुट्याइएको सेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ ।