रजत जयन्तीको अवसरमा कुमारी बैंकले गर्‍यो विभिन्न कार्यक्रमको आयोजना

काठमाडौं । कुमारी बैंकले स्थापनाको २५औं वर्ष पूरा गरी रजत जयन्ती मनाएको छ। 

‘सबैका लागि सधैका लागि’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा देशभर विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरेको हो । 

यस विशेष अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक, सेयरधनी, नियामक निकाय र शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट र अत्याधुनिक वित्तीय सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

वार्षिकोत्सवलाई उत्सवमय बनाउन बैंकका कर्मचारीहरूले आ(आफ्नो जातीय र सांस्कृतिक पहिचान झल्कने ‘परम्परागत भेषभुषा’ पहिरिएर कार्यस्थलमा उपस्थिति जनाएका थिए । 

यस पहलले कार्यस्थलमा समावेशिता, आपसी सम्मान र सांस्कृतिक विविधताको प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बैंकको विश्वास छ । सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै बैंकले काठमाडौं उपत्यकाका तीनै जिल्ला र सातै प्रदेशमा बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ, जसले स्थानीय रक्त बैंकको आवश्यकता पूर्ति र जीवन बचाउने अभियानमा टेवा पुर्याउने लक्ष्य राखेको छ ।

यसै अवसरमा बैंकले दिगो सामाजिक प्रभाव पार्ने उद्देश्यले ‘समुदायका लागि कुमारी बैंक कार्यक्रमको घोषणा गरेको छ ।

यो कार्यक्रममार्फत देशैभर रहेका शाखाहरूबाट वर्षैभरि गरिब, विपन्न तथा पिछडिएका वर्गको जीवनस्तर सुधार्ने विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू सञ्चालन गरिनेछ।

साथै ग्राहकहरूका लागि रजत जयन्तीकै उपहार स्वरूप बैंकले ‘सिल्भर सेभिङ्ग्स’ बचत खाता पनि सार्वजनिक गरेको छ । यस खातामा ग्राहकहरूले बचत खाताकै सुविधामा मुद्दती खाता सरहको आकर्षक ब्याजदर प्राप्त गर्न सक्नेछन् ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले हाल २८६ शाखा, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ एकाइमार्फत ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

Share News