काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रोशन कुमार सिग्देल अनिवार्य अवकाशमा गएका छन् । उमेरहदका कारण उनी चैत १८ गते सेवा निवृत्त भएका हुन् ।
सिग्देलका अनुसार, उनको वास्तविक उमेर अझै करिब दुई वर्ष बाँकी भए पनि विद्यालय तहमा (एसएलसी) उमेर बढाएर राखिएको कारण चाँडै अवकाशमा जानुपरेको हो ।
अवकाशको समयसम्म उनी नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा कार्यरत थिए । झापाका स्थायी बासिन्दा सिग्देल वि.सं. २०५४ मंसिर २२ गते राष्ट्र बैंकमा प्रवेश गरेका थिए ।
उनले आफ्नो करिअरका क्रममा करिब १५ वर्ष अनुसन्धान विभागमा, ५ वर्ष बैंक सुपरभिजन विभागमा तथा बाँकी समय विभिन्न विभागहरूमा रही काम गरेका थिए ।
सिग्देलको अवकाशसँगै हाल निर्देशक रहेका हेम प्रसाद न्यौपाने स्वतः कार्यकारी निर्देशक पदमा बढुवा हुने भएका छन् । न्यौपाने वि.सं. २०५९ साउन २७ गते सहायक निर्देशक पदबाट राष्ट्र बैंकमा प्रवेश गरेका थिए ।
न्यौपानेसँग अनुसन्धान विभाग, बैंक सुपरभिजन विभाग, कर्पोरेट प्लानिङका साथै प्रादेशिक कार्यालय जनकपुर र फाइनान्सियल इन्क्लुजन एण्ड कन्जुमर प्रोटेक्सन डिभिजन लगायत विभिन्न विभागमा काम गरेको अनुभव छ । हाल उनी बैंकिङ विभागको कामु कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् ।