काठमाडौं । एक साताअघि खिचिएको गृहमन्त्री सुधन गुरुङको तस्बिर शुक्रबार अचानक सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक चर्चा र बहस सुरु भएको छ । ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,’ भन्दै गृहमन्त्री गुरुङले फेसबुकमा स्टाटस लेख्दै मन्त्रालयकै सोफामा सुतेको आफ्नो तस्बिर सार्वजनिक गरेका थिए । तस्बिर सार्वजनिक भएसँगै उनको कार्यशैली, सक्रियता र सस्तो लोकप्रियताको विषयमा विभिन्न कोणबाट टिप्पणीहरू आउन थालेका छन् ।
सामाजिक सञ्जालमा यो फोतो राख्दै विभिन्न किसिमका प्रतिक्रिया आइरहेका छन् । विवाद चर्किएपछि गृहमन्त्रीको सचिवालयले भने तस्बिर हालसालैको नभएको स्पष्ट पारेको छ । सचिवालय सदस्य जेम्स कार्कीका अनुसार उक्त तस्बिर केही दिनअघिको हो । 'धेरै कामको थकानपछि राति करिब १२-१ बजेतिर खिचिएको फोटो हो, हिजो रातिको होइन,’ उनले भने ।
उनले यो तस्बिर केपी शर्मा ओली पक्राउ गर्नुअघिको रातको भएको बुझिएको छ ।
गृहमन्त्री गुरुङ यतिबेला बालेन शाह नेतृत्वको सरकारका सबैभन्दा चर्चित मन्त्रीमध्ये एक हुन् । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनबाट गोर्खा–१ बाट निर्वाचित उनी मन्त्री बनेलगत्तै ठूला राजनीतिक व्यक्तित्वमाथि कारबाही प्रक्रिया अघि बढाएर चर्चामा आएका छन् ।
उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएपछि राजनीतिक तरंग अझ तीव्र बनेको छ । यसबाहेक, विभिन्न स्थानमा अनुगमन, नागरिकसँग प्रत्यक्ष भेटघाट र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति निरीक्षणजस्ता गतिविधिले पनि उनको सक्रियता झल्किएको छ ।
छोटो समयमै कठोर निर्णय र उच्च सक्रियताका कारण प्रशंसा बटुलिरहेका गृहमन्त्री गुरुङको यही ‘सोफा प्रसंग’ले भने उनको शैलीबारे नयाँ बहस सुरु गरिदिएको छ । थाकेका मन्त्री देखिए पनि गृह मन्त्रालय भने निरन्तर सक्रिय रहेको सन्देश दिन खोजिएको हो वा सस्तो लोकप्रियताको प्रयास, यसको मूल्यांकन भने समयले नै गर्नेछ ।