काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छन्।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा उनी शुक्रबार नियुक्त भएकी हुन् ।
दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेकी छन् ।
उनले अब प्रधानमन्त्री शाहको सञ्चार रणनीति, मिडिया र अनुसन्धानमा भूमिका निर्वाह गर्नेछिन् ।
भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायको क्षेत्रमा उनको पत्रकारिताको लामो अनुभवलाई सरकारको मूलधारमा जोडन यो नियुक्ति गरिएको हो ।
दाहालसँग रेडियो, टेलिभिजन, छापा र अनलाइन विधामा २० वर्षभन्दा बढिको व्यवसायीक पत्रकारिताको अनुभव छ । उनले पछिल्लो समय उकालो डट कममा वरिष्ठ संवाददाताको रुपमा खोज पत्रकारिता गर्दै आएकी थिइन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसमा विगत सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी दाहालले पत्रकारिता,सञ्चार सीप र मौलिक नेतृत्व (अथेन्टिक लिडरसिप) नेतृत्वको प्रशिक्षकसमेत हुन्।
दाहाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खोज पत्रकारितासम्बन्धी अवार्डहरूबाट सम्मानित भएकी छन् ।