काठमाडौं । सानै उमेरदेखि बचत संस्कृति विकास गर्ने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेडले तरलता अभावसँगै ‘नानीमा लागेको बानीः आज बचाउँ– जिन्दगीभरी रमाउँ’ नामक अभियानलाई तीव्रता दिएको छ ।
यसैक्रममा शनिबार काठमाडौंको डिल्लीबजारस्थित साब पब्लिक स्कूलमा आयोजित कार्यक्रममा मेगा बैंकको सद्भावना दूतको रुपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र चर्चित अभिनेत्री प्रियंका कार्कीले सानै उमेरदेखि बचत गर्ने बानीको विकास गर्न बालबालिका तथा अभिभावकहरुलाई अनुरोध गरे ।

‘सानै उमेरदेखि बैंकमा बचत खाता खोल्ने हो भने बालबालिकाहरुमा बचाउनुपर्छ भन्ने बानीको विकास हुन्छ, त्यसैले आफ्ना सन्तानहरुलाई स्वतस्फूर्त रुपमा बचत गर्ने बानीको विकास गराउनुस्’, कार्यक्रमका प्रमुख अतिथि रहेका क्रिकेट टिमका कप्तान खड्काले भने, ‘बालबालिकाहरुको पहिलो प्राथमिकता पढाइ नै हो, तर उनीहरुलाई सानैदेखि अन्य कुराहरु पनि सिकाउनुपर्छ ।’
यसैगरी, नायिका कार्कीले नानीदेखि लागेको बानीले नै हरेक मानिसको जीवनमा मुख्य प्रभाव पर्ने भएकोले यो अभियानले युवाहरुमा विद्यार्थी जीवनबाट नै बचत गर्ने संस्कृतिको विकास हुने विश्वास लिएको बताए । ‘सानो हुँदा मसँग भएको सबै रकम खाने र खेल्ने कुराहरु किनेर सिध्याइहाल्थें, तर अहिले महसुस हुँदैछ त्यो ठीक होइन रहेछ ।’, नायिका कार्कीले भनिन् ‘थोरै रकम भए पनि सानैदेखि बचत गर्ने बानी बसाऔं, रकम खेर नफालौं ।’
कार्यक्रममा मेगा बैंकका अध्यक्ष तथा सूर्योदय शिक्षा फाउन्डेशनका अध्यक्ष भोजबहादुर शाहले क्रिकेटर खड्का र अभिनेत्री कार्कीले मेगा बैंकको अभियानलाई साथ दिएकोमा खुसी व्यक्त गरे । उनले बालबालिका र युवाहरुमा बचत गर्ने बानीको बिउ रोप्न मेगा सद्भावना दूत पारस खड्का र प्रियंका कार्कीले उत्कृष्ट भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले युवाहरुलाई बैंकिङ शिक्षाको माध्यमबाट बचत गर्ने बानीको विकास गराउन क्रिक्रेटर खड्का र सिनेस्टार कार्की देशभरका विद्यार्थीमाझ पुग्ने बताइन् ।