कसैको हार वा जित होइन, एकताबद्ध भएर १५औं महाधिवेशन सम्पन्न गर्छौं : महामन्त्रीद्वय

काठमाडौं । सर्वोच्च अदालतले  नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धि विवादमा दिएको निर्णयलाई महामन्त्री गुरुराज घिमिरेले न्यायपूर्ण भएको टिप्पणी गरेका छन् । कांग्रेसका सदस्यले आजसम्म देशमा विधि र पद्धतिका लागि अनवरत गरेको संघर्षको प्रतिफल भएको उनको भनाइ छ । 

‘यस निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ । यो कसैको हार वा जित होइन । अब हामी नेपाली कांग्रेसका सबै साथी एकताबद्ध भई पार्टीको १५औं महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,’ उनले भने । 

विगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्ने उनले बताए । 

महामन्त्री प्रदीप पौडेलले कांग्रेसको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताए । उनले भने, ‘यस फैसला कसैका लागि पनि हार वा जितको विषय हुनुहुँदैन । एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खल्बलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।’

Share News