चिया बजारमा 'जस्बिरे' ब्राण्डको उदय

अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क र जर्मनी निर्यात

काठमाडौं । वि.सं २०४२ मा पत्रकार तथा लेखक स्वर्गीय भैरव रिसाल स्विस सरकारको सहयोगमा सञ्चालित एक आलु खेतीसम्बन्धी परियोजनामा काम गर्न हालको इलाम नगरपालिका-४ जस्बिरे गाउँ पुगे। रिसालले इलाममा आलु खेती मात्रै सिकाएनन्, चिया रोप्न पनि सिकाए । त्यति खेर चिया खेतीबारे ज्ञान आर्जन गरेका स्थानीय सूर्य सुब्बालाई कुनै दिन आफ्ना छोराहरूले चिया उद्योग नै सञ्चालन गर्लान् भन्ने लागेको थिएन । तर अहिले उनका छोराहरूले सञ्चालन गरेको ‘जस्बिरे चिया प्रशोधन उद्योग’ चिया उद्योगका क्षेत्रमा ‘ब्रान्ड’ बनेको छ ।

सूर्यका चार भाइ छोरा हुन् । त्यसमध्येका जेठो र माइलो शरद र गृष्मले १० वर्षअघि जम्मा १४ लाख रुपैयाँ लगानीमा उद्योग सुरु गरेका थिए । हाल सो उद्योगको लगानी ८ करोड रुपैयाँ पुगिसकेको छ । उनीहरुले आफ्नो ६० रोपनी जमिनमा चिया खेती गरेका छन् । साथै, ४ सय रोपनी जमिन भाडामा लिएर चिया खेती गरेका छन् । 

गाउँका १८५ घरपरिवारले उत्पादन गर्ने चिया यही उद्योगमा आउँछ । वार्षिक ३० हजार केजी तयारी अर्थोडक्स चिया उत्पादन गर्दै आएको यस उद्योगले यस वर्षदेखि १ लाख केजी तयारी चिया उत्पादन गर्ने लक्ष्य लिएको छ । यहाँ उत्पादित चियाको मुख्य बजार नेपालसहित अमेरिका, जापान, फ्रान्स, चीन, नेदरल्याण्ड, डेनमार्क, र जर्मनीलगायतका देश हुन् ।

जस्बिरे चिया प्रशोधन उद्योग ब्रान्डका रुपमा स्थापित हुनुका पछाडि सुब्बा परिवारको अथक मेहनत उदाहरणीय छ । सूर्यका जेठा छोरा गृष्म उद्योगको बजार व्यवस्थापन गर्छन् । माइला शरद नेपालकै ‘बेस्ट टी मेकर’ हुन् । उनले काठमाडौंमा आयोजित ‘नेपाल टी च्यालेन्ज-२०२४’ मा ‘बेस्ट टि मेकर’को अवार्डसमेत प्राप्त गरेका थिए । उनले चिया बनाउन थालेको २० वर्ष भइसकेको छ । उद्योगमा उत्पादन हुने सबै किसिमका चिया शरदले बनाउने गर्छन् । 

साहिँला छोरा निर्विकल्पको काम उद्योगको प्राविधिक पाटो हेर्ने हो । मेसिन फेर्ने, बनाउने वा हटाउने सहितका काम उनको जिम्मामा छ । कान्छा छोरा विकल्प अष्ट्रेलियामा मार्केटिङ बारे अध्ययनरत छन् । गृष्मका छोरा कर्म पनि भर्खरै पढाइ सकेर उद्योगमा काम गर्न आएका छन् । उनको काम विदेशी पाहुनालाई चियाको बारेमा जानकारी दिनु हो ।

यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । ‘उद्योगमा हामी परिवारका सदस्य सबै खटिएका छौँ,’ गृष्मले भने । 

हाल ७ हजार केजी ‘स्पेशल टी’ र अन्य सबै किसिमका गरी ३० हजार केजी तयारी चिया उत्पादन हुने गरेको गृष्म बताउँछन् । जस्बिरे चिया उद्योगको पहिचान ‘स्पेशल टी’ हो । यस उद्योगमा ‘स्पेशल टी’ मात्र वार्षिक ७ हजार केजी उत्पादन हुँदै आएको छ ।

‘एक वर्षमा स्पेशल टी मोटामोटी ७ हजार केजी उत्पादन हुन्छ । सुइरोबाट मात्र उत्पादित २ हजार केजी हुन्छ । किनकी त्यसलाई धेरै मेहनत पर्छ,’ माइला छोरा शरदले भने, ‘अरु ‘स्पेशल टी’ एक पात एक सुइरो, दुई पात एक सुइरो, तीन वा चार पात एक सुइरोको फरक स्वाद हुन्छ । फरक सिजन, मौसम र उचाइअनुसार उत्पादन हुने चियाको स्वाद फरक हुन्छ । मूल्य पनि फरक हुन्छ ।’

उनका अनुसार विश्व बजारमा ‘स्पेशल टी’ को माग धेरै छ । यहाँ उत्पादन भएको ‘स्पेशल टी’ उद्योगले प्रतिकेजी १५ हजार रुपैयाँमा बिक्री गर्छ । दराज अनलाइनमा त्यही चियाको मूल्य ३५ हजार रुपैयाँ प्रतिकेजी रहेको छ । उनका अनुसार विदेशमा सोही चियाको प्रतिकेजी मूल्य १ लाख रुपैयाँ नेपालीसम्म पर्छ ।

गत वर्षसम्म उद्योगको क्षमताले माग धान्न सकेको थिएन । तर, यसवर्ष उद्योगमा पूर्वाधार र प्रविधि थपिएको छ । अब २५ हजार केजी तयारी चिया उत्पादन गर्दै आएको उद्योगले वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्ने तयारी थालेको छ ।

‘यसअघि ८ करोड रुपैयाँसम्मको कारोबार थियो, यस वर्षदेखि बढ्छ । वार्षिक एक लाख केजी तयारी चिया उत्पादन गर्न उद्योगको क्षमता बढाएका छौँ,’ गृष्मले भने, ‘उद्योगमा नियमित काम गर्ने २६ जना हुनुहुन्छ । स्पेशल टी भएकाले मेसिनभन्दा बढी हातकै काम हुन्छ । टिप्ने, केलाउने जस्ता काम भएकाले महिला कामदार बढी हुनुहुन्छ ।’

त्यसो त यो सफलताको कथामा छैन । दुई वर्षअघि उद्योग जलेर ध्वस्त भएको तीतो कथा पनि शरदले सुनाए । २०८१ फागुन १३ गते उद्योगमा आगलागी हुँदा ८ करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको थियो । उनका अनुसार ४ करोड बराबरको अर्गानिक अर्थोडक्स तयारी चिया र त्यति नै मूल्यको भौतिक संरचना जलेर नष्ट भएको थियो । विद्युत् सर्ट भई आगो लाग्दा उद्योग पूर्ण रूपमा जलेको थियो ।

‘पुनः शून्यबाट उठ्नुपर्ने अवस्था भएकाले हाल बैंकको ऋण ४ करोड रुपैयाँ छ,’ उनले भने । जस्बिरे गाउँका सबै घरपरिवारको मुख्य आयस्रोत चियाखेती नै हो ।

‘गाउँमै उद्योग छ । नबिक्ला की भन्ने पीर छैन । अन्य खेती छोडेर गाउँ नै चियामय बनाइयो,’ स्थानीय किसान मिलन मुखियाले भने, ‘सुब्बा परिवारको उद्योगले हामी गाउँलेलाई झन् सजिलो भएको छ ।’

जस्बिरेमा चिया रोप्नुपर्छ भन्ने सुरुआत लेखक तथा पत्रकार स्व भैरव रिसालले गरेका हुन् । उनी पहिलोपटक विसं २०४२ मा जस्बिरे आएका थिए । 

‘भैरव सरले हामीलाई आलु रोप्ने उन्नत विधि सिकाउनुभयो । उहाँकै सक्रियतामा यहाँ चिया विस्तार आयोजनाको अवधारणा सुरु भयो,’ सूर्य सुब्बाले भने, ‘त्यसपछि जस्बिरेमा चिया विस्तार आयोजना कार्यालय हुँदै देशमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भयो । भैरव सरले यहाँ आएर आलु, चिया खेती गर्न मात्र होइन, गाउँमा विकासको लहर भित्र्याएर जानुभएको थियो ।’
    
त्यसो त जस्बिरे गाउँ र चियाको इतिहास सुब्बा परिवारसँग जोडिएको छ । राणाकालमा जस्बिर सिंह सुब्बाको नामबाट जस्बिरे गाउँ रहेको बताइन्छ । तिनै जस्बिर सिंह, सूर्य सुब्बाका हजुरबुबा हुन् । तत्कालीन राणाहरू सदरमुकाम स्थापनाका लागि विभिन्न ठाउँ हुँदै कुटीडाँडासम्म आइपुगेका थिए । उनीहरूसँगै आएका विभिन्न जातजातिका मानिसमध्ये जस्बिर सुब्बा पनि एक थिए । अरू सबै फर्किए, तर जस्बिर सुब्बा भने त्यहीँ बसिरहे । समय बित्दै जाँदा उनको बसोबास रहेको ठाउँ ‘जस्बिरे’ नामले चिनिन थालेको इतिहासमा पाइने पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले बताए । 

उद्यमी गृष्मका अनुसार, चिया तीन प्रकारको हुन्छन् । सिटिसी, अर्थोडक्स र स्पेशल । सिटिसी मधेसमा उत्पादन मात्र हुन्छ । अर्थोडक्स पहाडमा हुन्छ । अन्तर्राष्ट्रिय बजारमा बढी माग हुने अर्गानिक स्पेशल टी हो । ‘जस्बिरेमा चिया बुझ्न देश, विदेशका पाहुना आउँछन् । हामी उत्पादन, प्रशोधन र मार्केटिङसम्मका कुरा सिकाएर पठाउँछौँ,’ उनले भने । 

उनीहरू जिल्लाकै सफल र उदाहरणीय उद्यमी रहेको इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले बताए । ‘हामीले धेरै अनुदान दिएर होइन । आफ्नै बलबुता र अध्ययनले स्थापित हुनुभएको हो,’ प्रमुख थापाले भने । 

सरकारको अनुदानभन्दा पनि आफैँ गर्नुपर्छ भन्ने हिम्मत आवश्यक रहेको गृष्मको भनाइ छ । ‘हामीले यस्तो चिया उत्पादन गर्छौं भन्ने कुरा संसारका मान्छेलाई थाहा छैन । त्यो काम हाम्रो पहुँचले भ्याउँदैन । यस्तो कुराचाहिँ सरकारले मार्केटिङ गरिदिए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने, ‘अनुदानका नाममा एक बेला उन्नती परियोजनाले हामीलाई ५० प्रतिशत अनुदान दियो । त्यो बेला हाम्रो उद्योग सानो थियो । हामीलाई सतप्रतिशत अनुदान पाए जस्तै भयो । हामीलाई ७० लाख रुपैयाँ जति अनुदान दिइएको थियो ।’

Share News