काठमाडौं । पछिल्लो समय सगरमाथाको चुचुरोमा पुग्ने महिलाहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । पर्यटन विभागले सार्वजनिक गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एण्ड फिगर-२०२५’ अनुसार हालसम्म सगरमाथा आरोहण गर्ने महिलाको संख्या ७०४ पुगेको छ ।
सन् १९७५ मे १६ मा जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर सगरमाथा आरोहण गर्ने पहिलो महिलाको उपमा पाएकी थिइन् । नेपालबाट भने पासाङल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन् ।
पछिल्लो एक दशकमा सगरमाथा आरोहण गर्ने महिलाको संख्या ४२५ जना रहेको छ । विभागको तथ्यांकअनुसार सन् २०१६ मा ४४ जना महिलाले सगरमाथामा पाइला टेकेकी थिइन् । सन् २०१५ मा भने एक जनाले पनि सगरमाथा चढेनन् । २०१५ मा नेपालमा भूकम्प जाँदा हिमाल आरोहण सिजन नै प्रभावित हुन पुगेको थियो । भूकम्पका कारण सगरमाथा बेस क्याम्पमा हिमपहिरो जाँदा कम्तीमा २२ जनाको ज्यान गुमाएका थिए । जुन सगरमाथा इतिहासकै एक दुःखद घटना मानिन्छ ।
सन् २०१६ मा ४४ जना महिलाले सगरमाथा आरोहण गरेका छन् । २०१७ मा सगरमाथा चढ्ने महिलाको संख्यामा केही कमी देखिएपनि १०१८ मा फेरि बढेको देखिन्छ । २०१७ मा ३३ जना महिलाले सगरमाथा आरोहण गरेकोमा २०१८ मा ५१ जनाले आरोहण गरेको देखिन्छ ।
त्यस्तै, २०१८ मा ५१ जनाले र २०१९ मा ६५ जनाले सगरमाथा आरोहण गरेका छन् । २०२० मा एक जनाले पनि सगरमाथा चढेका छैनन् । उक्त वर्ष विश्वर फैलिएको कोभिड–१९ महामारीको कारण आरोहण बन्द हुन पुगेको थियो ।
२०२१ मा ४४ जना, २०२२ मा ६९ जना, २०२३ मा ६६ जना र २०२४ मा ६३ जना महिलाले सगरमाथामा पाइला टेकेका छन् ।

विदेशी तथा नेपाली महिलाहरू पछिल्लो समय हिमाल आरोहणमा उत्साहका साथ सहभागी हुन थालेका छन् । पर्वतारोहण व्यवसायीहरूका अनुसार पुरुषको तुलनामा महिलाको संख्या अझै कम भए पनि उनीहरूको सक्रियता र आत्मविश्वास उल्लेखनीय रूपमा बढ्दो छ ।
विदेशी महिला आरोहीहरूले सहयोगीका रूपमा नेपाली महिलालाई नै प्राथमिकता दिन थालेपछि महिला गाइडहरूको संख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।
पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पाले अन्तर्राष्ट्रिय महिला आरोहीहरू प्रायः महिला गाइड वा सहायक खोज्ने गरेको जानकारी दिए ।
‘अन्तर्राष्ट्रिय महिला आरोहीहरू आउँछन् र उनीहरू प्रायः महिला गाइड वा सहायक नै खोजिरहेका हुन्छन्,’ उनले भने ।
महिलाहरू विदेशमा सामान्य रोजगारीका लागि जानू नपरोस् र आफ्नै देशमै सम्मानजनक कामको अवसर सिर्जना होस् भन्ने उद्देश्यले पनि हिमाल आरोहण क्षेत्रमा महिलाको सहभागिता बढाउने प्रयास भइरहेको उनले बताए ।
उनका अनुसार हिमाल आरोहण इज्जतको काम हो, जसले व्यक्तिलाई शीर ठाडो पारेर हिँड्न सक्ने आत्मविश्वास दिन्छ । यस क्षेत्रमा नाम र दाम दुवै कमाउने सम्भावना रहेको उनको भनाइ छ ।
उनले भने, ‘महिलाहरू पहिलेभन्दा अगाडि बढेका छन्, तर यो पर्याप्त भने होइन । अझै उनीहरूलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । अहिले अवसरहरू पनि प्रशस्तै छन्, तर समाजलाई अझै सचेत गराउनुपर्ने देखिन्छ।’
विशेषगरी सुदूरपश्चिम क्षेत्रका मानिसहरू पर्यटन क्षेत्रमा कम संलग्न रहेको उल्लेख गर्दै उनले त्यहाँका महिलाहरूलाई पनि यस क्षेत्रमा आकर्षित गर्न पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
चुनौतीका हिसाबले महिलाहरूले विभिन्न अवरोधहरूको सामना गर्नुपरेको उनको भनाइ छ । समाजमा रहेका परम्परागत सोचले पनि महिलालाई पछाडि पार्ने गरेको उनको भनाइ छ । तर आरोहण क्षेत्रमा महिलाहरू पुरुषभन्दा कमजोर हुन्छन् भन्ने धारणा सही नभएको उनले स्पष्ट पारे । उनका अनुसार सबैभन्दा ठूलो चुनौती नै सोच हो, जसले महिलालाई सीमित बनाउने र दबाउने काम गर्छ ।
उनले भने, ‘महिलाहरूले पुरुषसरह काम गर्न सक्छन्, उनीहरू सक्षम र सबल छन्,महिलाहरू पुरुष बराबर होइनन् भन्ने सोच समाजको कुरीति हो, जसलाई अब तोड्नैपर्छ ।’
अहिलेसम्म यस क्षेत्रमा संलग्न महिला दिदीबहिनीहरूले आफू पुरुषसरह काम गर्न सक्षम रहेको प्रमाणित भइसकेको उनको धारणा छ । उनका अनुसार यदि यस्तो सोच परिवर्तन गर्न सकियो भने निकट भविष्यमा महिलाहरूले पुरुषभन्दा अझै बढी योगदान दिन सक्ने सम्भावना पनि छ ।
महिलाहरूको सहभागिता बढाउन तालिम (ट्रेनिङ) को भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उनले बताए । तालिमले ट्रेकिङ तथा आरोहणसम्बन्धी अनुभवलाई व्यवस्थित र प्रभावकारी बनाउँछ । साथै यसले यात्रालाई सुरक्षित बनाउने काम गर्छ ।
‘ज्ञान र तालिमको अभावमा धेरै गल्ती हुन सक्छन्, जसले ज्यान नै जोखिममा पार्न सक्छ । त्यसैले तालिमले आफूलाई मात्र होइन, अरूलाई पनि सुरक्षित बनाउँछ,’ उनले भने ।
एक दशकमा साढे ४ हजारले टेके सगरमाथा
२०१५ देखि २०२४ सम्म कुल ४ हजार ६ सय ४९ जनाले सफल आरोहण गरेका छन् । यस अवधिमा १ हजार ९२७ जना विदेशी तथा स्वदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् भने २ हजार ७२२ जना सहयोगी (शेर्पा तथा अन्य सहयोगी टोली) ले पनि सफलतापूर्वक आरोहण सम्पन्न गरेका छन् ।
पर्यटन विभागका अनुसार पछिल्ला वर्षहरूमा सगरमाथा आरोहणमा व्यावसायिक गतिविधि बढेसँगै सहयोगी समूहको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । २०१६ मा ४५१ जनाले सगरमाथा चढेका छन् । जसमध्ये १९७ जना आरोही र २५४ जना सहयोगी छन् ।
त्यस्तै, २०१७ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ४२६ जनाले जना सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका छन् । जसमा १९९ आरोही र २२७ जना सहयोगी छन् । २०१८ मा ५६० जनाले सगरमाथा चढेका छन् । जसमध्ये २६२ आरोही र २९८ जना सहयोगी छन् ।
२०२३ मा २६८ जना आरोही र ३९१ सहयोगी समूह गरी कुल ६५९ जनाले सगरमाथा चढेको तथ्यांक छ । त्यस्तै, २०२४ मा २९८ आरोही र ४९४ जना सहयोगी गरी कुल ७९२ जनाले सगरमाथामा पाइला टेकेका छन् ।
एक दशकमा सगरमाथा चढ्ने आरोही र सहयोगीको तथ्यांक

सगरमाथामा पहिलोपटक सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्ड नागरिक एडमण्ड हिलारीले पाइला राखेका थिए । सगरमाथा आरोहणको इतिहासमा हालसम्म ९ हजार ७७ स्वदेशी तथा विदेशी आरोहीले सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन् ।
विभागको तथ्यांक अनुसार २०१० अघि २ हजार ७ सय सात जनाले सगरमाथामा पाइला राखेका छन् ।
८ हजारभन्दा माथिका कुन हिमालमा कति आरोही ?
सगरमाथापछि सबैभन्दा बढी मनास्लु हिमालमा आरोहीले पाइला टेकेका छन् । उक्त हिमालमा २०२४ सम्ममा ३ हजार ६४३ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् । त्यसपछि ल्होत्से हिमालमा १ हजार २९६ जनाले सफलतापूर्वक हिमाल आरोहण गरेका छन् ।
विश्वको दोस्रो अग्लो शिखर हो कञ्चनजङ्घा । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ । कञ्चनजङ्घामा १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए ।
विश्वकै तेस्रो अग्लो शिखर भनेर सूचीकृत भएपनि कञ्चनजङ्घा क्षेत्रमा अपेक्षित रूपमा पर्यटकको संख्या बढाउन सकेको छैन । यो हिमालमा चढ्ने आरोहीको संख्या पनि अरू हिमालको तुलनामा न्यून छ । पर्यटन विभागको २०२४ सम्मको तथ्यांकअनुसार ५९६ जनाले कञ्चनजङ्घा हिमाल चढेका छन् ।
मकालुमा ८२७, धौलागिरि हिमालमा ६८८, अन्नपूर्णमा १ मा ५२४, यालुङमा ५३ र चोयुमा २१ जना आरोहीले सफलतापूर्वक पाइला टेकेका छन् ।