एकपछि अर्को संकटको सामना गर्दै हिमालयन पुनर्बीमा, नियामकको कडा निगरानीमा

भट्ट पक्राउ परेसँगै कम्पनीका ठूला सेयरधनीहरू एकपछि अर्को गर्दै अनुसन्धानमा तानिएका छन् ।

काठमाडौं । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीमा एकपछि अर्को संकट गहिरिँदै गएको छ । विशेषगरी कम्पनीका आधारभूत सेयरधनी दीपक भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेसँगै कम्पनीभित्र एकपछि अर्को समस्या बढ्दै गएको हो ।

हाल भट्ट अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । भट्टमाथि ३ अर्ब ८१ करोड ४६ लाद रुपैयाँभन्दा बढी बराबरको सेयर खरिद गरेको आरोप लागेको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार भट्टले हिमालयन रिइन्स्योरेन्सको करिब २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ, सहायक कम्पनी हिमालयन सेक्युरिटिजबाट २२ करोड १९ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट करिब ३७ करोड रुपैयाँ, एचएलआई लार्ज क्याप फन्डबाट करिब २५ करोड १४ लाख रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख रुपैयाँ प्रयोग गरी विभिन्न मितिमा सेयर खरिद गरेको उल्लेख छ ।

विभागले बीमा व्यवसाय सञ्चालनका क्रममा कुनै अनियमितता वा आर्थिक दुरुपयोग भएको हो वा होइन भन्ने विषयमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिइसकेको छ ।

भट्ट पक्राउ परेसँगै कम्पनीका ठूला सेयरधनीहरू एकपछि अर्को गर्दै सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा तानिएका छन् । यही बीचमा सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानका लागि शंकर ग्रुपका सुलभ अग्रवाल सहितका व्यक्ति पक्राउ परे । 

कम्पनीभित्र विशेषगरी सञ्चालक समितिका सदस्यहरूले एकपछि अर्को गर्दै राजीनामा दिन थाले । सबैभन्दा पहिले कम्पनीमा अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएर बाहिरिए । गोल्छाले फागुन २५ गते दिएको राजीनामा चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

अध्यक्ष गोल्छाको राजीनामालगत्तै सञ्चालक सदस्यहरूले पनि राजीनामा दिए । सञ्चालकहरू शाहिल अग्रवाल, रोहित गुप्ता, अमित मोर, राजीव मोर, शुभेक्षा खरेल र सुभाषकुमार झुनझुनवालाले राजीनामा दिएर बाहिरिए ।

यसपछि कम्पनीको सञ्चालक समिति पुनर्गठन गरिएको छ । कम्पनीले आगामी वार्षिक साधारण सभासम्मका लागि उदयकुमार निरौलालाई अध्यक्षमा नियुक्त गरेको छ । त्यस्तै, दिपेन्द्रकुमार मिश्र, पृथ्वीराज थापा, दीपककुमार मिश्र र आशीषचन्द्र न्यौपानेलाई सञ्चालकमा नियुक्त गरिएको छ ।

कम्पनीका पुराना सञ्चालकहरू सबै बाहिरिने र सबै नयाँ सञ्चालक प्रवेशले पनि कम्पनीभित्र असाधारण अवस्था सिर्जना भएको विश्लेषण हुन थालेको छ । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना  पौडेल  स्वास्थ्य समस्याका कारण भारतमा उपचाररत रहेकी छिन् । केही समयदेखि दिमागको नशामा रगत जम्ने समस्या देखिएपछि उनी उपचाररत रहँदै आएकी थिइन् । हाल सोही समस्याको फलोअपका लागि भारत पुगेका हुन् ।

कम्पनीको उच्च व्यवस्थापनमा देखिएको समस्यासँग हिमालयन रिबाट बीमा कम्पनीहरूलाई पाउनुपर्ने पुनर्बीमा भुक्तानीमा पनि समस्या देखिन थालेको छ । पुनर्बीमा कम्तिमा १० प्रतिशत हिस्सा हिमालयन रिमा गराउनै पर्ने सरकारको बाध्यकारी नीतिका कारण सबै बीमा कम्पनीहरूले हिमालयन रिमा पुनर्बीमा गराएका छन् । 

सूचीकृत कम्पनीभित्र पछिल्लो समय देखिएको यो समस्याले कम्पनीको निर्णय प्रक्रिया, रणनीतिक योजनादेखि दैनिक कार्यसञ्चालनमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । बीमासम्बन्धी जानकारहरूका अनुसार यो विषयले कम्पनीको विश्वसनीयतामा प्रश्न उठाउन सक्ने तर्क गरेका छन् ।

पुनर्बीमा व्यवसाय विश्वासमा आधारित हुने र अन्तर्राष्ट्रियस्तरसँग सम्बन्ध रहेका हुनाले व्यवसाय विस्तारमा समेत असर पुग्न सक्ने बताउँछन् । पुनर्बीमा कम्पनी स्रोतका अनुसार पनि पछिल्लो पटक कम्पनीभित्र घटेका यी घटना क्रमले व्यवसायमा ठूलो धक्का लागेको छ।

प्राधिकरणको कडा निगरानीमा 

सेयरधनी पक्राउ, सञ्चालक सदस्यहरूको एकपछि अर्को राजीनामालगायत घटना बाहिरिएपछि प्राधिकरणले कम्पनीमाथि कडा निगरानी बढाएको छ । यद्यपि यसअघि पनि कम्पनीलाई प्राधिकरणले निगरानी गर्दै आएको थियो । यसअघि कम्पनी हिल्टन होटलसँग सम्बन्धित पुनर्बीमा प्रकरणमा नियामकको कारबाहीमा परिसकेको छ।

नेपाल बीमा प्राधिकरणले हिल्टन होटलको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ सम्बन्धी पुनर्बीमा व्यवस्थापनमा निर्देशन तथा नियमविपरीत काम गरेको ठहर गर्दै कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

यही सन्दर्भमा नियामकले कम्पनीलाई संकटग्रस्त घोषणा गर्न लागेको भन्ने हल्ला पनि पुँजी बजार फैलिएको थियो । यसको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६५ रुपैयाँसम्म झरेको थियो । यो वर्षको उच्च मूल्य ११४० को तुलनामा करिब ४१ प्रतिशतले कम हो । 

तर कम्पनीलाई समस्याग्रस्त घोषणा गर्ने विषयमा प्राधिकरणमा छलफल नै नभएको बताइएको छ । प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले भने यस विषयमा अहिलेसम्म प्राधिकरणबाट कुनै निर्णय नभएको बताइन् । कम्पनीलाई समस्याग्रस्त नै घोषणा गर्ने हो भने पनि प्राधिकरणको सञ्चालक समितिबाट निर्णय हुनुपर्ने उनको भनाइ छ ।

बीमा ऐन, २०७९ अनुसार प्राधिकरणले बीमितको हकहित संरक्षणका लागि बीमकलाई समस्याग्रस्त बीमक घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ । यो ऐन पुनर्बीमा कम्पनीको हकमा पनि लागू हुन्छ ।  बीमा ऐन २०७९ को परिच्छेद १३ को दफा १०१ मा सोसम्बन्धी व्यवस्था गरिएको छ । 

बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पुँजी तथा पुँजीकोष कायम गर्न नसकेमा, बीमकको कूल सम्पत्ति र दायित्वको अनुपात (सल्भेन्सी मार्जिन) कायम नभएमा बीमकको संस्थापक सेयरधनीले ठगी, सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचबिखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा समस्याग्रस्त घोषणा गर्न सक्छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि इन्स्योरेन्सको कार्यालयमा छापासमेत हानेको थियो । वैशाख १ गते विभागले अनुसन्धानका लागि आवश्यक कागजात संकलन गर्ने क्रममा कम्पनीमा पुगेको हो । तर स्रोतका अनुसार यसलाई ‘छापा’ भन्दा पनि विभागका अधिकारीहरू कम्पनीमा पुगेर आवश्यक कागजात मागी संकलन गरेर फर्किएको थियो । 

त्यसपछि वैशाख ३ गते प्राधिकरणले सीईओसहित पाँचजना उच्च व्यवस्थापनका अधिकारीसँग सात दिने स्पष्टिकरण मागेको छ । 

कम्पनीमा आर्थिक अनियमितताको आशंका देखिएपछि प्राधिकरणले सीईओ पौडेल, डेपुटी सीईओ मुकेशकुमार कपुर तथा कार्यकारी निर्देशकहरू मनिशकुमार, शिशिर गैह्रे र सन्तोष केसीसँग स्पष्टीकरण सोधेको थियो । स्रोतका अनुसार प्राधिकरणको यो स्पष्टीकरण माग्ने प्रक्रिया नियमित प्रशासनिक प्रक्रिया मात्रै हो । प्रमाणबिना कुनै पनि कर्मचारीलाई निलम्बन गर्न नमिल्ने भएकाले प्रारम्भिक रूपमा स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अहिले दैनिक बीमा प्राधिकरणको टोली कम्पनीमा दैनिक रूपमा निरीक्षणमा पुग्न थालेको छ । दैनिक ३/४ जनाको टोली कम्पनीको निरीक्षण गरेर फर्किने गरेको स्रोतले बतायो ।

कम्पनीको वित्तीय अवस्था

कम्पनीको दोस्रो त्रैमासको रिर्पोटअनुसार कम्पनीले चालु वर्षको पहिलो ६ महिनामा ६४ करोड ७४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल व्यवसाय ३१.३० प्रतिशतले बढेर ३ अर्ब २९ करोड १३ लाख र कुल आम्दानी २२.२६ प्रतिशतले बढेर ३ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ पुगेको हो । कम्पनीको कुल खर्च ३१.०६ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.८६ रुपैयाँबाट बढेर ११.९२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.०२ रुपैयाँ रहेको छ । १० अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब १९ करोड रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

कम्पनी स्रोतका अनुसार कम्पनीको व्यवस्थापनमा अहिले कुनै समस्या छैन । ‘काममा कुनै सम्झौता नगर्नू’ भन्ने निर्देशनअनुसार कामहरू तीव्र गतिमा अघि बढिरहेका स्रोतको दाबी छ । सञ्चारमाध्यमहरूमा आएका विभिन्न विवादका विषयले अन्तर्राष्ट्रिय स्तरमा प्रभाव पार्न सक्ने भए पनि कम्पनीले आफ्नो कार्य सञ्चालनमा कुनै अवरोध नभएको स्रोतले भन्यो ।

हिमालयन रिको व्यवसाय नेपालमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय बजारसँग पनि जोडिएको छ । यसैले कम्पनीभित्रको विवादस्पद विषय संवेदनशील हुने हुँदा कम्पनीसँग बुझेर मात्रै सत्यतथ्य समाचार सम्प्रेषण हुनुपर्नेमा पनि कम्पनीले जोड दिएको छ । कम्पनीका अनुसार पुनर्बीमा कम्पनीसँग सम्बन्धित विगत १० वर्षदेखि हुन नसकेको ‘रिकन्सिलिएसन’  को समस्या समाधानतर्फ अघि बढेको र अहिले दाबी भुक्तानी पनि सुचारु रहेको छ ।

दीपक भट्टमाथिको अनुसन्धान प्रतिवेदन बाहिरियो, भीआईपी व्यवसायीसमेत संलग्न

Share News