काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भृकुटीमण्डपमा रहेका सटरहरू भाडामा दिने भएको छ । कम्पनीले काठमाडौं महानगरपालिका-२८ स्थित भृकुटीमण्डपमा रहेका सटरहरू भाडामा दिने भएको हो ।
कम्पनीले भृकुटीमण्डप क्षेत्रका ‘ब्लक बी’ र ‘ब्लक सी’ मा रहेका सटरहरू भाडामा दिने निर्णय गरेको जनाएको छ । ब्लक ‘बी’ मा ५२ वटा र ब्लक ‘सी’ मा ५१ वटा गरी १०३ वटा सटर रहेका छन् ।
कम्पनीका अनुसार ब्लक ‘बी’ का सटरहरूको न्यूनतम् मासिक भाडा (बहाल करसहित) ६ लाख ४७ हजार ५२० रुपैयाँ तोकिएको छ भने ब्लक ‘सी’ का सटरहरूको न्यूनतम् मासिक भाडा ५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।
इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले ७ दिनभित्र १ हजार रुपैयाँ (फिर्ता नहुने) तिरी दरभाउपत्र खरिद गर्नुपर्नेछ । खरिद गरिएका दरभाउपत्रहरू आठौं दिन अपराह्न १२ बजेसम्म पेश गर्नुपर्नेछ । प्राप्त दरभाउपत्रहरू सोही दिन दिउँसो २ बजे खोलिने कम्पनीले जनाएको छ ।