काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच एक साझेदारीमा हस्ताक्षर भएको छ । सोमबार भएको उक्त साझेदारी अन्तर्गत नेपालभरका चौध वटा जिल्लामा रहेका सेवाबाट वञ्चित जनसंख्यालाई सरलीकृत लघुवित्त सेवाहरू प्रदान गरिने कम्पनीले जनाएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र सक्षमका टोली प्रमुख बलजित भोहरा लगायतका दुवै संस्थाका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
‘सरलीकृत लघुवित्त सेवा’ परियोजनाले मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका बाँके, दाङ, कैलाली, कञ्चनपुर, रूपन्देही र सुर्खेत जिल्ला र मध्यमाञ्चलविकास क्षेत्रको धादिङ जिल्ला गरी सातजिल्लामा २० वटा शाखारहित बैंकिङ सेवा विन्दुहरू स्थापना गर्ने लक्ष्य लिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठले भने, “परियोजनाको ३ वर्षे समयावधिमा बैंकले आफ्ना शाखा रहित बैंकिङ सेवाविन्दुहरू र समर्पित सम्बन्धप्रबन्ध (रिलेशनशिप म्यानेजर) मार्फतबाट ९,००० भन्दा बढी हितग्राहीहरूलाई सेवा पुर्याउने लक्ष्य लिएको छ । यसको अतिरिक्त, हाम्रो वित्तीय साक्षरताअभियानको माध्यमबाट १३,००० हितग्राही सम्म पुग्ने लक्ष्य लिएका छौं ।”
त्यसैगरी, सक्षमका टोलीप्रमुख बलजित भोहराले भने, “दुर्गम ग्रामीण क्षेत्रहरूमा औपचारिक वित्तीय संस्थाहरूको अभावले गर्दा स्थानीय व्यक्तिहरू स्थानीय ऋणदाताहरू अत्यन्त उच्चदरमा ऋण लिन बाध्य भएका छन् र उक्त ऋण दाताहरूले ऋण तिर्न नसक्दा ऋण लिने व्यक्तिहरूको शोषण गर्दै आएको पाइन्छ । तसर्थ, हामीलाई विश्वास छ कि हाम्रो यस साझेदारीले यस्ता समस्याहरूको सम्बोधन गर्नेछ र देशमा सेवाबाट वञ्चित रहेका जनसंख्यालाई सेवा प्रदान गर्नेछ ।” साथै, उनले लघुवित्त सेवाविस्तारको लागि समर्पित सम्बन्धप्रबन्धकहरू परिचालन गरे पश्चात हामीले निर्धारण गरेका लक्ष्यहरू छिट्टै नै प्राप्त हुने बताएका छन् ।