तेस्रो सन्तानलाई १० लाख अनुदान

सरकारले आँसुको व्यापार बन्द गर्नुपर्छ र खुशीमा लगानी खुला गर्नुपर्छ ।

सन् १९५० मा नेपालको प्रजनन दर ६ दलमलव ०५ थियो । संयुक्त राष्ट्र संघको विश्व जनसंख्या रिपोर्टअनुसार सन् १९५० यता नेपालमा सबैभन्दा बढी प्रजननदर ६ दशमलव ०९२ थियो, सन् १९६१ मा । त्यो समयमा सरदरमा १ हजार महिलाले ६ हजार ९२ बच्चा जन्माउँथे । औसतमा एक महिलाले जीवनमा ६ भन्दा बढी छोराछोरी जन्माउँथिन् ।

सन् २०२४ मा नेपालको प्रजनन् दर १ दशमलव ९६ मा झरेको छ । संयुक्त राष्ट्र संघको विश्व जनसांख्यिक प्रतिवेदन (वर्ल्ड पपुलेशन प्रस्पेक्टस्) २०२४ का अनुसार विगत ७५ वर्षमा नेपालमा प्रजनन् दर करिब ६८ प्रतिशतले घटेको छ । र, सन् २०२४ को तुलनामा अगामी ७५ वर्षमा अर्थात् सन् २१०० सम्ममा नेपालको प्रजनन् दर १३ दशमवल ६२ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ ।null

सन् २१०० सम्ममा नेपालको प्रजनन् दर १ दशमलव ६७४ मा झर्नेछ । एक हजार महिलाले १६७४ छोराछोरीको जन्म दिनेछन् । यो अंक नेपालको उच्च प्रजनन् दर भएको वर्ष सन् १९६१ को तुलनामा ७२ दशमलव ५२ प्रतिशत कम हो ।

 

विश्वभरका सरकारको प्राथमिकताको सूचीमा जनसंख्या वृद्धि अगाडि पर्दै गएको छ । तर, नेपालमा सरकारले परिवार नियोजनको व्यापार प्रवर्द्धन गर्ने नीतिमा अझै जोड दिइरहेको छ । इच्छा विपरीत गर्भ रहन गएमा महिलाले गर्भपतन गर्न सक्ने कानुनी व्यवस्था छ । यही नीतिको छिद्रभित्र छिरेर गर्भमै लिंग पहिचान गरी गर्भपतन (मूलत छोरी हत्या) कार्य बढ्दो छ, जसको रेकर्ड पनि छैन । केटी नपाएर केटाहरू अविवाहित र एक्लो जीवन जीउनु पर्ने बाध्यात्मक दृष्यहरू समाजमा देखिन थालेका छन् । यसबारे सरकार मात्र होइन, समाज पनि मौन बसिरहेको छ । 

देशको जनसंख्या स्थिर रहनको लागि प्रजननदर २ दशमलव १ भन्दा माथि रहनुपर्छ भन्ने संयुक्त राष्ट्र संंघकै रिपोर्टमा लेखिएको छ । तर, नेपालमा प्रजनन् दर १ दशमलव ९६ मा झरिसकेको छ ।

२०७८ सालका राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्यामा वार्षिक वृद्धिदर औषत शून्य दशमलव ९२ प्रतिशत कायम देखिन्छ । नेपाल सरकार यही तथ्यांकमा रमाएको छ । विगत ६० वर्षमा नेपालीहरूको औसत आयु ३२ वर्षले वृद्धि भई ७२ वर्ष पुगेको छ । औसत आयुमा भएको उच्च वृद्धिले राष्ट्रिय जनसंख्याको वृद्धिदरमा टेवा पुगेको प्रष्ट देखिन्छ । 

nullसंयुक्त राष्ट्रसंघको जनसांख्यिक प्रक्षेपणले सन् २०५० दशकदेखि नेपालको जनसंख्या घट्दै जाने प्रक्षेपण गरेको थियो । त्यसको संकेत अहिले नै देखिएको छ । २०७८ सालको राष्ट्रिय जनगणनाले खोटाङ, भोजपुर, पाँचथर, ओखलढुंगासहितको जिल्लाहरूको जनसंख्या घट्दो क्रममा रहेको पुष्टि गरेको छ ।

आँसुमा व्यापार, खुशीमा मौन

दुलही अन्माउँदै गर्दा माइती पक्षका आँखा आँसुले डुब्छ । तर, घरमा बुहारी भित्र्याउँदा व्यापक खुसी मनाइन्छ । छोराछोरी जन्मिँदा परिवार, समाज हामी  खुशी छाएको देख्छौं । पारिवारिक र सामाजिक खुसीका यी पलहरूमा सरकार मौन बस्छ, अनुपस्थित हुन्छ ।

मृत्युमा नेपाली शोकमा पर्छन्, रुवावासी हुन्छ । आँसुको बलिन्द्र छुट्छ । जहाँ सर्वाधिक आँसुको मूल फुट्छ र राष्ट्रिय तरंग पैसा हुन्छ त्यहाँ सरकारले व्यापारको प्रस्ताव लैजान्छ । पीडितले आँसु बेच्छन्, सरकारले आँसु किन्छ । मूलतः सत्तासीन दलले मृतकको परिवारलाई क्षतिपूर्ति दिने आक्रोशित जनसमुदायलाई भुलाउने र निर्वाचनमा भोट जोगाउने उद्देश्यले निर्णय लिइरहेको पाइन्छ । 

आँसु विक्रेताहरूले मप्रति आक्रमण थाल्नुहुनेछ । आँसु किन्ने निर्णय गर्ने सरकारी अधिकारीहरू यस लेखकलाई मुद्दा लगाउने योजनामा जानुहुनेछ । यति चाहिँ नभुल्नुहोस् कि लेखकले तर्कसँगै प्रस्तुत गरेका तथ्यमा फाइल बनाएर बोक्नुहोस् ।  

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७२ जनाका परिवारले १०/१० लाख रुपैयाँ क्षतिपूर्ति लिए । ४५ जनालाई सरकारले सहिद नै घोषणा गर्यो । सहिद घोषित भएपछि उनीहरूले पाउने सेवा सुविधाको सीमा नै छैन ।

२०८१ चैतमा तीनेकुने घटनामा मारिएका दुई युवकका परिवारलाई पनि सरकारले १०/१० लाख रुपैयाँ दियो, परिवारले लिए । २०८० मंसिरमा बालकुमारी घटनामा मारिएका दुई युवकका परिवारलाई पनि सरकारले १०/१० लाख रुपैयाँ दियो, मृतकका परिवारले लिए । 

तीनवटै घटनामा राज्यले ज्यादति गरेको थियो । उनीहरूको मृत्युको मूल कारण राज्यको बन्दुक नै थियो । माओवादी सशस्त्र द्वन्द्वको समयमा मारिएका तथा बेपत्ता १६ हजारभन्दा बढीलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दियो । अहिलेसम्मको इतिहासमा आँसुको बदलामा सरकारले खर्चेको सबैभन्दा ठूलो बजेट यही नै हो । 

बलात्कारपछि हत्या गरिएको कञ्जनपुरकी निर्मला पन्तको परिवारलाई पनि सरकारले १० लाख रुपैयाँ दियो । पन्तको हत्यारा पुष्टि भएको छैन । तर, सरकारका उच्च अधिकारीका परिवार सदस्य नै संलग्न रहेको आशंकासहित विवरणहरू समेटेर समाचारहरू प्रकाशित भएका छन् । त्यो घटनाले राष्ट्रिय तरंग पैदा गर्यो र सरकारले पन्त परिवारलाई १० लाख रुपैयाँ दियो । 

बलात्कारपछिको हत्या, पारिवारिक वा सामाजिक विवादपछिको हत्याका घटनाहरू देशभर दैनिकजस्तै घटिरहेका हुन्छन् । तर, सबै घटनाले निर्मला पन्तको हत्या झैं राष्ट्रिय तरंग ल्याउँदैन । सरकारले आँसु पनि किन्दैन । पीडित पक्षले पैसा पनि पाउँदैन । 

यही जेठ ११ गते रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रुखले च्यापेर दुई जनाको मृत्यु भयो । थवाङ गाउँपालिका-२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री बिरामी परेका आफन्तलाई भेटेर घर फर्किँदै गर्दा हावाहुरीमा परेका थिए । उनीहरूको मृत्युले राष्ट्रिय तरंग पैदा गरेन । परिवारको आँसु सरकारले पनि किनेन । 

सवारी दुर्घटनाको कारण सबैभन्दा धेरै नेपालीको अकालमा मृत्यु हुन्छ । बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक विपदमा परेर पनि धेरै मानिसहरूको मृत्यु भइरहेको हुन्छ । कामको सिलसिलामा रुखबाट लडेर, भीरबाट खसेर, नदी पोखरीमा डुबेर पनि धेरै नेपालीहरूको निधन भइरहेको हुन्छ । जंगली जनावरको आक्रमण, विशालु सर्प वा अन्य घातक संक्रमणका कारण पनि मानिसहरूको असाधारण मृत्यु भइरहेको हुन्छ । 

यस्ता प्रकृतिका सबै मृत्युपछि सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ दिँदैन । घटनाले राष्ट्रियस्तरमा तरंग पैदा गरेपछि र सत्तासीन शक्तिले भविष्यको निर्वाचनमा भोट गुम्ने आंकलन गरेपछि मात्र मन्त्रिपरिषद् बैठकले पीडित परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गर्छ । राष्ट्रिय क्षतिपूर्ति नीतिबिना नै  मन्त्रिपरिषद्ले पटके निर्णयबाट आँसु किनिरहेको हुन्छ । सरकारले अभ्यास गरेको १० लाख क्षतिपूर्ति नीति मापदण्डहीन छ । 

विश्व अभ्यास

दुर्घटनाबाट हुने मृत्यु र परिवारलाई दिने आर्थिक टेवाको लागि बीमाको व्यावसायिक अभ्यास विश्वभर छ, नेपालमा पनि छ । भलै, त्यसभित्र पनि सच्याउनु पर्ने विषय धेरै छन् । अन्तर्राष्ट्रिय उठानको क्रममा मृत्यु भएमा परिवारले २ करोड ५० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउन सक्छ । 

आन्तरिक उडानका क्रममा मृत्यु भएमा परिवारले ५० लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने छ । सडक दुर्घटना भएमा ५ देखि १० लाख रुपैयाँ बीमा क्षतिपूर्ति पाँउछ । क्षतिपूर्तिको मूल्य बीमा करार सम्झौता वा क्षतिपूर्ति सम्बन्धि कानुन अनुसार हुन्छ । क्षतिपूर्ति सम्बन्धि कानुन निर्माणमा र बीमा बजार प्रवर्द्धनमा दुबै पक्षमा सरकार चुकेको छ। 

यस लगानीले देशको जनसंख्या वृद्धिमा टेवा दिनेछ, देशको समृद्धिमा टेवा दिनेछ । सरकारको लगानी वास्तविक रूपमा उत्पादनमुखी पनि हुनेछ ।

गर्नुपर्ने काम 

जीवन अमूल्य छ । तर, मृत्यु अनिवार्य पनि छ, कतैबाट पनि रोक्न सकिँदैन । तर, सरकारले मानिसको मृत्युमा पैसा लगानी गरिरहेको छ । खानपानमा सुधार, जीवनशैलीमा सुधार, स्वास्थ्य सेवामा स्तरवृद्धि गरेर मानिसको आयु लम्ब्याउन सकिन्छ । जन्मदर वृद्धिका उपायहरू अवलम्बन गरेर जनसंख्या वृद्धि गर्न सकिन्छ । नीतिगत सुधार गरेर पनि जनसंख्या वृद्धिलाई प्रोत्साहित गर्न सकिन्छ । यसतर्फ सरकारले लगानी बढाउनुपर्छ । 

सरकारले आँसुको व्यापार बन्द गर्नुपर्छ, खुशीको व्यापार खुला गर्नुपर्छ । दुर्घटनाजन्य मूल्यमा १० लाख खर्च गर्नुभन्दा तेस्रो सन्तान जन्माउने परिवारलाई १० लाख रुपैयाँ दिनु उत्तम हुन्छ । यसले परिवारलाई वास्तवमै खुसी बनाउने छ । कुँवारा, कुमारीको बढ्दो संख्या, ढिला विवाह, व्यस्त जीवनशैली, बाँझोपन, परिवार नियोजनका साधनको प्रतिफलले सन्तानविहीन र निराश बन्दै गएको समाजमा तेस्रो सन्तान प्राप्ति र त्यसमा सरकारको १० लाख अनुदान लाभले वृहत तरंग पैदा गर्नेछ । 

यस लगानीले देशको जनसंख्या वृद्धिमा टेवा दिनेछ, देशको समृद्धिमा टेवा दिनेछ । सरकारको लगानी वास्तविक रूपमा उत्पादनमुखी पनि हुनेछ । विश्वका अन्य देशहरूले पनि फरक-फरक तरिकाबाट प्रजनन् वृद्धिलाई प्रोत्साहित गर्ने नीतिहरू लिएको पाइन्छ । नेपाल सरकारले पनि यसमा ध्यान दिनुपर्छ ।

पछिल्लो समय बाँदरले कृषि उपज खाएर देशको ६० प्रतिशतभन्दा बढी नेपालीलाई ठूलो नोक्सान पुर्याएको छ । बाँदर नियन्त्रण गरेर किसानलाई राहत दिने, उत्पादन वृद्धि गर्ने आवाज संसदमा उठ्दा आशिका तामाङ लगायत सांसदहरूले संसदमै नियमापत्ति गरे, विरोध गरे । बाँदर मात्र होइन, बाघ, हात्ती, गैडा लगायत जंगली जनावरको आक्रमण/अतिक्रमणबाट पीडित समुदाय र प्रकृति संरक्षणवादीहरूबीचको घम्साघम्सी चिया पसलदेखि टकशोसम्म देखिँदै आएको छ । तर, मान्छेकै जन्म नियन्त्रण गर्ने, भ्रूण हत्या गर्ने र आफ्नो व्यापार वृद्धि गर्नेहरूको संरक्षणका लागि बनेका कानुन संशाेधन वा कानुन खारेज बारेमा वहस शुन्य छ । १५० वर्षमा मानव जन्मदर ७२ प्रतिशतले घट्दै गर्दा त्यसबारे चिन्तन र वहस अबको आवश्यकता हो ।

सम्बन्धित लेख : ‘सगरमाथा कार्ड बेचौं, जनसंख्या वृद्धि गरौं’ 

Share News