काठमाडौं । भारतबाट आएका ९७ सदस्यीय पर्यटक समूहका नेतालाई प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ गरेपछि पर्यटन व्यवसायीहरूले प्रश्न उठाएका छन् । शनिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको चेकजाँचका क्रममा ९७ सदस्यीय पर्यटक समूहका नेता भीमा श्रीनिवासलाई ८ लाख भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो ।
पर्यटन व्यवसायीहरूका अनुसार अयोध्याबाट नेपाल आएका उक्त पर्यटक समूह नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्य, विशेषगरी मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गर्न आएका थिए ।
यतिबेला भारतीय पर्यटकहरू नेपाल आउने सिजन भएको र धेरै पर्यटक नेपाल भित्रिरहेको अवस्थामा यो घटनाले नेपालको पर्यटन क्षेत्रमा राम्रो सन्देश नजाने पर्यटन व्यवसायीहरूले औंल्याएका छन् ।
सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष सीपी श्रेष्ठले उक्त घटनाले भारतीय पर्यटकमाझ नकारात्मक सन्देश जान सक्ने बताएका छन् । उनका अनुसार यस घटनापछि भारतीय पर्यटकहरूमा ‘नेपाल जानु हुँदैन, त्यहाँ दुःख पाइन्छ’ भन्ने धारणा बन्न सक्ने जोखिम छ ।
श्रेष्ठका अनुसार भारतीय ट्राभल एजेन्सीहरूले काठमाडौं, पोखरा, मुक्तिनाथ, भैरहवा, लुम्बिनी र सौरालगायत नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको भ्रमणका लागि नियमित रूपमा ठूला पर्यटक समूह नेपाल पठाउने गरेका छन् ।
‘ठूला समूहमा नेपाल आउने भारतीय टोलीमा एक जना ग्रुप लिडर हुन्छन्, जसले होटल, यातायात तथा अन्य खर्चको भुक्तानी गर्नका लागि नगद रकम बोकेर आएका हुन्छन्,’ उनले भने ।
उनका अनुसार ९७ सदस्यीय भारतीय पर्यटक समूह हाल काठमाडौंको गौशालास्थित एक होटलमा बसिरहेको छ । समूहको सम्पूर्ण आर्थिक व्यवस्थापन गर्ने टोली नेता पक्राउ परेपछि पर्यटकहरू अलपत्र जस्तै अवस्थामा रहेको उनले बताए ।
श्रेष्ठले कानुनअनुसार एक व्यक्तिले २५ हजार भारतीय रुपैयाँसम्म नेपालमा ल्याउन पाउने व्यवस्था रहेको उल्लेख गर्दै ९७ जनाको समूहका हिसाबले उक्त रकम २४ लाख रुपैयाँभन्दा बढी हुनसक्ने तर्क गरे । त्यसैले समूहका तर्फबाट ल्याइएको रकमलाई सोही सन्दर्भमा हेर्नुपर्ने उनको भनाइ छ ।
श्रेष्ठले यस्ता घटनाले नेपालप्रति विदेशी पर्यटकमा नकारात्मक सन्देश जाने र पर्यटन व्यवसाय नै प्रभावित हुने चिन्ता व्यक्त गरे ।
‘यस्ता घटनाले पर्यटक आगमनमा असर पार्छ, निजी क्षेत्रले होटल तथा पर्यटन पूर्वाधारमा गरेको अर्बौं रुपैयाँको लगानी जोखिममा पर्न सक्छ,’ उनले भने, ‘बैंकको किस्ता, कर्मचारीको तलबभत्ता तथा दैनिक सञ्चालन खर्च व्यवस्थापन गर्नसमेत कठिन हुने अवस्था आउन सक्छ।’
होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य पर्यटकसँग रहेको रकमलाई यसरी नियन्त्रणमा लिनु र उनीहरूलाई अनावश्यक झन्झटमा पार्नु उचित नभएको बताउँछन् ।
उनका अनुसार उक्त रकमलाई अवैध कारोबार वा ‘दुई नम्बरको पैसा’ का रूपमा नभई पर्यटकीय भ्रमणका क्रममा हुने खर्च व्यवस्थापनको सन्दर्भमा हेर्नुपर्छ । सरकारको यस्तो कदमले पर्यटन उद्योगमै नकारात्मक असर पर्न सक्ने भन्दै उनले चिन्तासमेत व्यक्त गरे ।
महासचिव साजन शाक्यले पनि भारतीय पर्यटकलाई यसरी पक्राउ गर्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे गलत सन्देश जान सक्ने बताए । ‘एउटा पर्यटक समूहका नेतालाई ठूलो रकम ल्याएको भन्दै पक्राउ गरिएको घटनाले विदेशमा सकारात्मक सन्देश जाँदैन,’ शाक्यले भने ।
उनका अनुसार हाल भारतमा गर्मी र बिदाको सिजन रहेकाले ठूलो संख्यामा भारतीय पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् । ‘गर्मी छल्न र बिदा मनाउन भारतीय पर्यटकहरू नेपाल आउँछन्। विगतको तुलनामा सडक पूर्वाधारमा सुधार हुँदै गएपछि भारतीय पर्यटकको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ,’ उनले भने ।
शाक्यले सरकारले यस विषयमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै पर्यटकलाई अनावश्यक दुःख दिने खालका गतिविधि हुन नदिन आग्रह गरे ।
पक्राउ पर्ने बेला एक्लै
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता कुमार सैंयजुले भने पक्राउ परेका भारतीय नागरिक कुनै समूहमा नरहेको बताएका छन् । उनका अनुसार ती व्यक्ति एक्लै थिए र उनले आफू ९७ सदस्यीय टोलीको लिडर भएको जानकारी पनि दिएका थिएनन् ।
‘यदि त्यहाँ ठूलो समूह वा भीड देखिएको भए स्वाभाविक रूपमा त्यसबारे जानकारी हुन्थ्यो । साथै रकमको स्रोत पुष्टि भएको भए प्रहरीले छोडिदिन्थ्यो, तर त्यस्तो अवस्था नदेखिएपछि पक्राउ गरिएको हो,’ सैंयजुले भने ।
उनका अनुसार विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा ती व्यक्तिसँग स्रोत नखुलेको ठूलो परिमाणको रकम फेला परेको थियो । प्रहरीले रकमको स्रोत पुष्टि गर्न समय दिए पनि उनले आवश्यक प्रमाण पेश गर्न सकेनन् ।
‘ती नागरिकसँग स्रोत नखुलेको रकम भेटिएपछि प्रहरीले करिब ३० देखि ४५ मिनेटसम्म रकमको स्रोत प्रमाणित गर्ने समय दिएको थियो, तर उनले कुनै प्रमाण पेश गर्न सकेनन् र प्रहरीसँग विवादसमेत गर्न थाले,’ सैंयजुले भने ।
रकमको स्रोत पुष्टि हुन नसकेपछि प्रहरीले मुचुल्का तयार गरी उनलाई जिल्ला प्रशासन कार्यालय पठाएको र त्यसपछि थप अनुसन्धानका लागि बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको सैंयजुले जानकारी दिए ।
राजस्व अनुसन्धान विभागका सूचना अधिकारी सेतबहादुर शाहीले पक्राउ परेका भारतीय नागरिकलाई सोमबार मात्रै विभागमा ल्याइएको बताएका छन् । उनले ती व्यक्तिको साथबाट ८ लाख रुपैयाँ नगद बरामद भएको पुष्टि गरे ।
उनका अनुसार अनुसन्धान प्रक्रिया प्रारम्भिक चरणमै रहेकाले घटनाबारे विस्तृत जानकारी दिन अहिले नै सम्भव छैन । ‘उनलाई आजै यहाँ ल्याइएको हो, नगद गणना गर्दा ८ लाख रुपैयाँ भेटिएको छ, त्यसबाहेक अन्य विषयमा उहाँसँग थप सोधपुछ र अनुसन्धान गर्न बाँकी छ,’ शाहीले भने ।
शाहीले घटनासम्बन्धी थप तथ्य अनुसन्धानपछि मात्र खुल्ने जानकारी दिए ।