काठमाडौं । बढ्दो शैक्षिक खर्च र बालबालिकाको भविष्यप्रतिको आर्थिक चिन्तालाई मध्यनजर गर्दै जीवन बीमा कम्पनीहरूले विभिन्न बाल बीमा योजनाहरू सञ्चालन गरिरहेका छन् । बालबालिकाको शिक्षा, भविष्य र आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले यस्ता योजनाहरू ल्याइएका हुन् ।
बीमा कम्पनीहरूका अनुसार अभिभावकको असामयिक मृत्यु वा अन्य अप्रत्याशित परिस्थितिमा पनि बालबालिकाको शिक्षा र भविष्य प्रभावित नहोस् भन्ने उद्देश्यले बाल बीमा योजनाहरू सञ्चालनमा ल्याइएको हो ।
यस्ता योजनामार्फत बालबालिकाको उच्च शिक्षा, विवाह वा अन्य आवश्यक खर्चका लागि निश्चित रकमको व्यवस्था गर्न सकिने भएकाले अभिभावकलाई दीर्घकालीन आर्थिक सुरक्षा योजना बनाउन सहयोग पुग्ने कम्पनीहरू बताउँछन् ।
नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफले बालबालिकालक्षित तीनवटा जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ । ती हुन्, बालशिक्षा बीमा योजना, नौलो केटाकेटी जीवन बीमा योजना र केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना ।
बालशिक्षा बीमा योजना
भर्खरै जन्मेको बच्चादेखि १८ वर्षसम्मको बालबालिकाको लागि यो जीवन बीमा खरिद गर्न सकिन्छ । यो बीमालेखमा बच्चा तथा प्रस्तावक दुई जनाकै जीवन बीमा हुन्छ ।
उमेर हदको सन्र्दभमा प्रस्ताव बाबु वा आमाको उमेर २० वर्षदेखि ६५ वर्षसम्मको हुनुपर्ने छ । बीमा शुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा भुक्तानी गर्न सकिन्छ । यो बीमा योजनामा बीमितले न्यूनतम पाँच हजार रुपैयाँदेखि अधिकतम रकम प्रस्तावको लागि एक करोड रुपैयाँसम्म र बच्चाको लागि प्रस्तावकका बीमांक बराबर अधिकतम २५ लाख रुपैयाँसम्म गर्न सकिन्छ ।
बीमा अवधिमा प्रस्तावकको बाबुआमाको मुत्यु भएमा छोराछोरीको शिक्षाको लागि वार्षिक रकम प्राप्त हुने हुँदा बच्चाको पालन तथा शिक्षाको सुनिश्चितता हुने र बीमा चालु भएको १ वर्षपश्चात ऋण लिन पाउने सुविधा पनि यसमा रहेको छ ।
नौलो केटाकेटी जीवन बीमा योजना
यो बीमालेखमा एक वर्षदेखि ७ वर्षसम्म उमेर भएको बीमितको बीमा प्रारम्भ मितिबाट दुई वर्ष पुरा भएपश्चात वा ७ वर्ष उमेर पुरा भएपछि (जुन पछि आउँछ) बीमालेखको पहिलो वार्षिकोत्सव मितिदेखि र बीमितको उमेर ८/९ वर्ष भएमा उनीहरुको उमेर १० वर्ष पुरा भएपछि र बीमितको उमेर १०/११ वर्ष भएमा उनीहरूको बीमाको वार्षिकोत्सव मितिदेखि मात्रै बीमालेखअन्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।
बीमा जोखिम प्रारम्भ पछि बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत रकम प्रस्तावकलाई भुक्तानी दिने र बाँकी ७५ प्रतिशत बीमाङ्क र मृत्यु हुँदासम्मको आर्जित बोनस रकम ब्याजसहित एकमुष्ठ बीमा अवधि समाप्ती भएपछि प्रस्तावकलाई भुक्तानी गरिने छ ।
यो बीमा योजना खरिद गर्नेले मुनाफामा सरिक हुन पाउछ । एक वर्षदेखि १७ वर्षसम्मका केटाकेटीको बीमा गर्न सकिनेछ । बीमा योजना खरिद गरेको एक वर्षदेखि जोखिम बहनको सुविधा लिन पाइनेछ । उमेरका आधारमा न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष अवधिसम्मको लागि यो योजना खरिद गर्न सकिनेछ ।
बीमितले वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्ने सुविधा रहेको छ । यदि बीमितले वार्षिक बीमा शुल्क भुक्तानी गरेमा एक प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको छ । त्यस्तै, अर्धवार्षिक रूपमा बीमा शुल्क भुक्तानी गर्दा कुनै पनि छुट पाइने छैन । तर त्रैमासिक रूपमा बीमा शुल्क भुक्तानी गर्दा थप ३ प्रतिशत र मासिक रुपमा भुक्तानी गर्दा ६ प्रतिशत तिर्नु पर्ने व्यवस्था छ ।
यदि बीमितले बीचमा पोलिसीलाई निरन्तरता दिन नचाहेमा वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट तीन वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिने सुविधा रहेको छ । त्यस्तै, समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
यस बीमा योजनाअन्तर्गत अतिरिक्त बीमाशुल्क तिरी बीमाशुल्क छुट सुविधा लिन सकिनेछ । यो योजना १८ वर्षसम्मको उमेर समूहका केटाकेटीले मात्र लिन सक्नेछन् ।
यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा वा बीमालेख साथ संलग्न अनुसूचीमा उल्लेख भए बमोजिम दुर्घटनाको कारणबाट अशक्त तथा अपाङ्ग भएमा बाँकी बीमा अवधिको लागि बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानी छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
यो बीमा योजना बालबालिकासम्बन्धी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) हो । १ महिनाको बच्चादेखि १७ वर्षसम्मका बालबालिकाको लागि यो बीमा योजना खरिद गर्न सकिन्छ । यसमा प्रस्तावकको प्रवेश उमेर २१ वर्षदेखि ६५ वर्षसम्म रहेको छ ।
न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि २५ वर्षसम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम १५ हजारदेखि अधिकतम बीमाङ्क रकम आयस्रोतका आधारमा निर्धारण गर्न सकिन्छ । यो बीमा योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मितिदेखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्षपछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भएपछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडि आउँछ, सोहीदेखि जोखिम प्रारम्भ हुनेछ ।
बीमा अवधिभित्र जोखिम प्रारम्भ नहुँदै प्रस्तावकभन्दा अगाडि बीमित बालबालिकाकोे मृत्यु भएमा बीमालेखका सर्तहरूको अधीनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क (पूरक करार तथा अतिरिक्तबापतको बीमा शुल्कबाहेक) भुक्तानी हुन्छ ।
त्यस्तै, बीमा जोखिम प्रारम्भपछि बीमा अवधिभित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पूरक करार तथा अतिरिक्तबापतको बीमा शुल्कबाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
बीमा अवधिभित्र प्रस्तावको मृत्यु भएमा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता हुने छ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकैसाथ मृत्यु भएमा प्रस्तावकको मृत्युबापत बीमाङ्क रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्युबापत बीमाङ्क रकमको २५ प्रतिशत रकम भुक्तानी गरिने व्यवस्था छ भने बीमालेख स्वतः अन्त्य हुनेछ ।
यस योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात् समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी
‘मेरो मुटु बालजीवन बीमा’ योजना
बालबालिकाको उच्च शिक्षा, आकस्मिक खर्च र दीर्घकालीन योजना सुरक्षित गर्न सानिमा रिलायन्सले ‘मेरो मुटु बालजीवन बीमा’ योजना सञ्चालन गरिरहेको छ । यो बीमा योजना एक महिनाको उमेरदेखि १७ वर्षसम्मका
बालबालिकाको लागि खरिद गर्न सकिने छ । यसमा प्रस्तावक र बच्चा दुवैको जीवन बीमा हुन्छ ।
बीमा अवधिभित्र प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ । बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाकोनाममा उपलब्ध हुनेछ, जसले बालबालिकाको शिक्षादेखि भविष्य निर्माणसम्म सहयोग पुग्छ ।
बीमा अवधिभित्र बच्चाको मृत्यु भएमा बीमांक रकमको २५ प्रतिशत वा आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ, त्यो रकम प्रदान गरिने छ ।
बीमा अवधि समाप्त हुनु अगावै बीमालेख चालु रहेको अवस्थामा बीमित र बीमा प्रस्तावकको मृत्यु एउटै घटनामा भएमा प्रस्तावकको मृत्युबापत बीमांक रकम र आर्जित बोनस तथा बच्चाको मृत्यु बापत बीमंकको २५ प्रतिशत रकम भुक्तानी हुने छ ।
रिलायबल लाइफ इन्स्योरेन्स
रिलायबल सर्वसुलभ बाल जीवन बीमा
रिलायबल लाइफ इन्स्योरेन्सले सञ्चालनमा ल्याएको रिलायबल सर्वसुलभ बाल जीवन बीमा योजना लाभसहितको बचत बीमा योजना हो । जसले बालबालिकाको भविष्य सुनिश्चित गर्न डिजाइन गरिएको हो । यसले प्रस्तावक र बच्चा दुवैका लागि सुरक्षा प्रदान गर्छ ।
बीमा अवधिभित्र प्रस्तावको मृत्यु भएमा बाँकी प्रिमियम छुट हुन्छ भने बीमाको निरन्तरता हुन्छ । त्यस्तै, बीमितले १ प्रतिशत रकम मासिक आयको रूपमा पाउनेछन् । जोखिम सुरु हुनुअघि प्रिमियम फिर्ताको सुविधा रहेको छ । त्यस्तै, पूर्ण र आंशिक अपंगता भएमा छुट्टै सुविधा उपलब्ध हुनेछन् ।
एशियन लाइफ इन्स्योरेन्स
सुनौलो बाल भविष्य (सावधिक) योजना
एशियन लाइफले सञ्चालन गरिरहेको सुनौलो बाल भविष्य (सावधिक) योजना बच्चा जन्मेदेखि १७ वर्षसम्मले खरिद गर्न सकिन्छ । यो बीमा योजनाको अवधि न्यूनतम ५ वर्ष र अधिकतम २५ वर्षसम्मको रहेको छ । बीमितले न्यूनतम ५ हजार र अधिकतम आर्थिक अवस्थाअनुसार पोलिसी लिन सक्छन् ।
बीमा प्रारम्भ हुनुअघि बीमित बालबालिकाको मृत्यु भएमा बीमितले प्राप्त गरेको अतिरिक्त बीमा शुल्कबाहेक बीमांक रकमको २५ प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ सो रकम भुक्तानी दिइने छ भने बीमा स्वत: अन्त्य हुने छ ।
बीमा अवधिभरि प्रस्तावको मृत्यु भएकोमा बाँकी अवधिको बीमा शुल्क मिनाहा हुनेछ । बीमाअवधिभित्र बीमित बालबालिका र प्रस्तावको एकसाथ मृत्यु भएमा बीमांक रकमको २५ प्रतिशत र आर्जित बोनस वा भुक्तानी भएको बीमा शुल्कमध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइने छ ।
आईएमई लाइफ इन्स्योरेन्स
आईएमई बाल उज्वल सावधिक जीवन बीमा योजना
यो बीमा योजना बालबालिकाको शिक्षा र भविष्यमा विवाहको लागि उपयुक्त हुन्छ । यो योजनाअन्तर्गत बोनसहित बीमा राशि चयन गरिएको अवधिको अन्त्यमा मात्रै भुक्तानीयोग्य हुन्छ ।
यो योजना न्यूनतम एक लाख रुपैयाँदेखि अधिकतम आर्थिक अवस्थाअनुसार खरिद गर्न सकिन्छ । जोखिम सुरु अघि बीमित बालबालिकोको मृत्यु भएमा त्यसअवधिसम्म बुझाएको सम्पूर्ण रकम फिर्ता हुनेछ । त्यसपछि बीमालेख स्वतः समाप्त हुनेछ ।
त्यस्तै, बीमा अवभिभित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत र आर्जित बोनस (भएमा) वा त्यस अवधिसम्म बुझाइएको कुल प्रिमियम, जुन बढी हुन्छ त्यही रकम भुक्तानी गरिनेछ ।
बीमा अवभित्रभित्र बीमित (बालबालिका) र प्रस्तावक दुवैको एकै समयमा मृत्यु भएमा बालबालिकाको मृत्युबापत बीमाङ्कको २५ प्रतिशत तथा आर्जित बोनस (भएमा) भुक्तानी गरिनेछ । प्रस्तावक (अभिभावक) को मृत्युबापत पूरा बीमाङ्क भुक्तानी गरिनेछ ।
नेशनल लाइफ
नेशनल लाइफको बाल अमृत ४ इन्डोमेन्ट
नेशनल लाइफ इन्स्योरेन्सको नेशनल लाइफको बाल अमृत ४ इन्डोमेन्ट पोलिसी सञ्चालनमा छ । १ महिने बच्चादेखि १५ वर्षसम्मको लागि यो बीमालेख खरिद गर्न सकिन्छ । प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहेको छ ।
यो बीमालेखको बीमांक रकम न्यूनतम १ लाख र अधिकतम आयस्रोतको आधारमा ५० लाखसम्म लिन सकिने यस बीमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ । बीमाशुल्क मासिक, त्रैमासिक अर्धवार्षिक र वार्षिकरूपमा बुझाउन सकिने व्यवस्था छ ।
यसैगरी, यस बीमालेख योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहेको छ साथै चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुट लगायतका अन्य सुविधाहरू पनि यस बीमालेखमा रहेका छन् ।
अरू कम्पनीको बीमा योजनाजस्तै यो योजनामा जोखिम सुरुअघि बीमित बालबालिकोको मृत्यु भएमा त्यसअवधिसम्म बुझाएको सम्पूर्ण रकम फिर्ता हुनेछ । त्यसपछि बीमालेख स्वतः समाप्त हुनेछ । त्यस्तै, बीमा अवधिभित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमाङ्कको २५ प्रतिशत र आर्जित बोनस (भएमा) वा त्यस अवधिसम्म बुझाइएको कुल प्रिमियम, जुन बढी हुन्छ त्यही रकम भुक्तानी गरिनेछ ।
बीमा अवभित्रभित्र बीमित (बालबालिका) र प्रस्तावक दुवैको एकै समयमा मृत्यु भएमा बालबालिकाको मृत्युबापत बीमाङ्कको २५ प्रतिशत तथा आर्जित बोनस (भएमा) भुक्तानी गरिनेछ । प्रस्तावक (अभिभावक) को मृत्युबापत पूरा बीमाङ्क भुक्तानी गरिनेछ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन
बाल उन्नति योजना
लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी नेपाल) ले बालबालिकालक्षित बीमा बाल उन्नति योजना सञ्चालन गरिरहेको छ । यो बीमा योजनामा बच्चाको बीमा गर्दा प्रस्तावकको निःशुल्क जीवन बीमा हुन्छ ।
बीमा अवधिमा कुनै पनि कारणले प्रस्तावको मृत्यु भएमा बाँकी सम्पूर्ण प्रिमियम छुट हुनुका साथै बीमा रकमको एक प्रतिशत मासिक पढाइ खर्च पाइने तथा प्रस्तावक अशक्त भएमा प्रस्तावको पनि वार्षिक १० प्रतिशत भत्ता पाउने व्यवस्था छ ।
त्यसैगरी, यदि प्रस्तावको दुर्घटनाको कारण मृत्यु भएमा थप सुनिश्चित बोनस रकमको भुक्तानी हुन्छ । त्यस्तै, बीमा गरेको तीन वर्षपश्चात कर्जा सुविधासमेत यो योजनामा उपलब्ध रहेको छ ।