काठमाडौं । ललितपुर महानगरपालिकाले निर्माण गरिरहेको कुसुन्तीस्थित लिफ्टसहितको अपांगतामैत्री आकाशे पुल आगामी आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ ।
निर्माण सुरु भएको लामो समय बित्दासमेत विभिन्न कारणले सम्पन्न हुन नसकेको उक्त आयोजना अहिले अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ ।
महानगरका अनुसार पुलको निर्माण कार्य २०८० फागुनमा सुरु भएको हो । निर्माणको जिम्मा लामा प्रगति–मनि बुद्ध जेभीले ४ करोड ६८ लाख रुपैयाँमा पाएको थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार प्रारम्भिक चरणमा केही प्राविधिक समस्या र ठेकेदारको ढिलाइका कारण निर्माण प्रभावित भए पनि हाल काम तीव्र गतिमा अघि बढिरहेको छ ।
महर्जनले यो लिफ्टसहितको अपांगतामैत्री आकाशे पुल नेपालमै पहिलो भएको बताउँदै यसले शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका तथा अन्य सर्वसाधारणलाई सुरक्षित र सहज रूपमा सडक पार गर्न सहयोग पुग्ने बताए ।
उनका अनुसार महानगरले सबै नागरिकका लागि समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले अपांगतामैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।
साथै सोही सडकको धोविघाटमा साइकलसहित आवतजवात गर्न सकिने आकाशे पुल निर्माण पनि आगामी आवभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी महानगरले गरेको छ ।
त्यसैगरी, महानगरले ललितपुरकै पाटन अस्पताल अगाडि आकाशे पुल निर्माण गर्ने योजना अघि बढाएको छ । यसका लागि महानगरले बजेटसमेत व्यवस्था गरेको छ । पाटन अस्पताल अगाडि हुने सवारी र यात्रुको चापलाई दृष्टिगत गरी आकाशेपुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको महानगरले जनाएको छ ।
महानगरका अनुसार चालु आवमा सुरु भइसकेका तीनवटा पुलहरू निर्माण सम्पन्न भइसकेका छन् । आगामी वर्षमा थप तीनवटा पुल निर्माण गर्ने लक्ष्य महानगरले लिएको छ ।
महानगरले चालु आव २०८२/८३ मा निर्धारण गरेका ३४ क्षेत्रका ३७८ नीत तथा कार्यक्रममध्ये ८९ प्रतिशत नीति तथा कार्यक्रम सम्बोधन भएको जनाएको छ । बाँकी सम्बोधन हुन बाँकी कार्यक्रम आगामी आवमा निरन्तरता दिने महानगर प्रमुख महर्जनले जानकारी दिए ।
उनले आगामी आवको लागि भने महानगरले ३२ क्षेत्रका ३३५ वटा नीति तथा कार्यक्रमहरू अघि सारेको बताए । यसका लागि महानगरले ७ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
दशैंअघि सञ्चालनमा आउने विद्युतीय सटल बस
महानगरले धेरै समय अघिदेखि नै सञ्चालनमा ल्याउने तयारी गरेको विद्युतीय सटल बस आगामी दशैं अगाडि नै सञ्चालन गर्ने तयारी गरेको छ । सम्पदा क्षेत्रमा पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागेको विद्युतीय सटल बस सञ्चालनको लागि साझा यातातासँग पनि सम्झौता भइसकेको महानगरका प्रमुख महर्जनले बताए । महागनरका अनुसार १४–१८ सिटको ५ वटा सटल बस तयारी अवस्थामा रहेको छ ।
सञ्चालनमा आउँदैछन् यी आयोजना
ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीको पुनःनिर्माण अन्तिम चरणमा पुगिसकेको छ । महानगरले पोखरी निर्माण सम्पन्न गरी आगमी आवको साउन महिनामभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
‘सप्तपाताल पोखरी सम्पन्न गरी आगामी श्रावण भित्र सर्वसाधारणका लागि खुल्ला गर्नेछौं,’ महानगर प्रमुख महर्जनले भने ।
त्यस्तै, त्यही सँगैको पलेस्वों (कमल पोखरी) आगामी आवभित्र सम्पन्न गर्ने गरी काम भइरहेको पनि उनले बताए।
त्यसैगरी, ललितपुर खण्डमा पर्ने चिबहालदेखि लगनखेलसम्मको राजकुलो निर्माण सम्पन्न भइसकेको महानगरले जनाएको छ भने बाँकी बांगेधारादेखि चिबहालसम्मको पनि आगमी आवभित्रै सम्पन्न गर्ने गरी बजेट व्यवस्था गरिएको छ । साथै गोदावरी नगरपालिका खण्डको राजकुलो निर्माणको लागि गोदावरी नगरपालिकासँग सम्झौतासमेत भइसकेको छ ।
महानगरले आगमी आवमा पनि ऐतिहासिक पोखरी, हिटी, ढुङ्गेधाराहरूको संरक्षण र पुनःनिर्माणका लागि प्राथमिकता दिइएको छ । चालु आवमै निर्माण थालिसकेको लगनखेलस्थित न्हु पुख, एवं पुल्चोकस्थित तः पुख (पलेस्त्राँ पोखरी) को निर्माण हिरण्यवर्ण महाविहार, भृङ्गारेश्वर मन्दिर, नरसिंह मन्दिर, रुद्रायणी मन्दिर लगायत पुननिर्माण हुन बाँकी रहेका सम्पदाहरूको पुनःनिर्माणको लागि महानगरले बजेट विनियोजन गरेको छ ।
महानगरले नेपालमा नै पहिलो पटक कुपण्डोलदेखि जावलाखेलसम्म जडान गरिएको इन्टिलिजेन्ट ट्राफिक लाइटको प्रभावकारिता एकदमै राम्रो भएकोले त्यसलाई आगामी आवमा महानगरले थप विस्तार गर्ने योजना अघि सारेको छ ।
महानगरले जावलाखेलदेखि हरिसिद्धिसम्म, जावत्ताखेलदेखि बुङ्गमतीसम्म, कानदेवतास्थान–सानेपा–सान्तभवन–धोविघाट–एकान्तकुनासम्म विस्तार गर्न बोलपत्रसमेत प्रकाशित भइसको छ ।
ललितपुरलाई उज्यालो सहरको रूपमा विकास गर्न आवश्यक सडक तथा सार्वजनिक स्थानहरूमा नेपाल विद्युत प्राधिकरणको सहकार्यमा हाई मास्ट, स्मार्ट स्ट्रेट लाइट जडानको निरन्तरता महानगरले आगामी आवमा पनि दिएको छ । महानगरका अनुसार हालै हालै ललितपुर खण्डमा जडान भइरहेको छ ।
सडकयात्रीको सुरक्षा तथा सडक सुरक्षा तथा सड़क दुर्घटना न्युनिकरणका लागि अटोमेटेड स्मार्ट बुम जडान गरी इन्टिलिजेन्स ट्राफिक लाइटसँग लिंक गर्ने कार्यको समेत सुरुवात महानगरले गरेको छ ।
आगामी आवमा सञ्चालन हुने महानगरका अन्य मुख्य कार्यक्रम
पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस हाताभित्रको राणाकालीन संरचना पुनःनिर्माणको सुरुवातसमेत महानगरले गरेको छ । त्यस्तै, महानगरले वडा नं. २४ मा रहेको खेलकुद मैदान स्तरोन्नतिको लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । साथै मदन स्मारक विद्यालयको खेलमैदान निर्माण सम्पन्न गरी यसै वर्ष सञ्चालन ल्याइने तयारी महानगरको रहेको छ ।
त्यसैगरी, खानेपानी आयोजनाअन्र्तत महानगरले खानेपानीको अभावलाई न्यूनीकरण गर्न विभिन्न स्थानमा खानेपानी ट्याङ्की निर्माण गर्ने योजना अघि सारेको छ । त्यसको लागि सिस्नेरी खोलाको दैनिक १३ करोड लिटर खानेपानी ललितपुरमा ल्याउने कार्य प्रारम्भ भइसकेको महानगरले जनाएको छ ।
‘आवश्यक स्थानहरु पहिचान गरी खानेपानी लाइन विस्तार तथा स्तरोन्नति गरी खानेपानी वितरण प्रणालीलाई प्रभावकारी बनाइनेछ,’ महानगरका प्रमुख महर्जनले भने ।
त्यस्तै, दक्षिणकाली नगरपालिका, गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका स्थित खानेपानी मुहान संरक्षणका तथा स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरिएको उनले बताए ।
आगामी आवमा पनि महानगरले सार्वजनिक शौचालयहरू थप गरी निर्माण गर्ने नीति अघि सारेको छ । निर्माण सम्पन्न भइसकेको सार्वजनिक स्थललाई व्यवस्थित रुपमा सञ्चालनमा राख्नको लागि महानगरले सार्वजनिक निजी साझेदारी मार्फत सञ्चालन तथा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ ।
फोहरमैला व्यवस्थापनको लागि अस्थायी ट्रान्सफर स्टेशन थप गरिने भएको छ । फोहरमैला संकलन, वर्गीकरण तथा ढुवानीको व्यवस्थाका लागि एलएमसी गारवेज अर्लट एप र जिपिएस प्रणालीको प्रभावकारी कार्यान्वन गर्ने महानगरले जनाएको छ ।
यसअघि नै महानगरले घोषणा गरिसकेको वडास्तरवाट नै सरसफाइ तथा फोहरमैला व्यवस्थापन गर्ने गरी साधन स्रोतको क्रमशः हस्तान्तरण तथा व्यवस्थापन गरिने भएको छ । कुहिने र नकुहिने फोहर वर्गीकरणका लागि छुट्टाछुट्टै सङ्कलन गरिने व्यवस्था छिट्टै लागु गरिने भएको हो । त्यसका लागि महानगरले हरेक घरलाई डस्विन उपलब्ध गराउने भएको हो।
महानगरले आगामी आवमा ग्रान्ड वाटर रिचार्ज लाईलाई अभियानको रुपमा अगाडि बढाइने भएको छ । घर नम्बरलाई भवन अभिलेखीकरण र राजस्व सङ्कलन प्रक्रियामा समेत जोड्ने महानगरले जनाएको छ । त्यसैगरी, आगामी आवदेखि राजश्व संकलन अनलाइन माध्यमबाट समेत हुने व्यवस्था गरिने भएको छ ।
घरपालुवा पशुपन्छीहरुको अभिलेख व्यवस्थित गर्न एनिमल एपको व्यवस्थादेखि रेविज रोग नियन्त्रणमा विशेष जोड दिई सामुदायिक तथा घरपालुवा कुकुरहरूमा निःशुल्क खोप लगाउने व्यवस्थालाई थप व्यवस्थित बनाउने भएको छ ।
त्यस्तै, पाटन दरवार स्क्वायर, मंगलबजारमा पैदलयात्री तथा साइकल यात्रीहरूलाई प्राथमिकता दिइनेछ । परीक्षणको रूपमा उक्त क्षेत्रलाई ‘भेहिकल फ्रि जोन’ घोषणा गर्ने महानगरको योजना छ । अहिले पाटनढोकादेखि पाटन दरवार क्षेत्रसम्म सम्पदा मार्ग ‘फ्लागस्टिभ पेभमेन्ट’ कार्य सुरु भइसको छ ।
‘पाटन सिटी डज नट स्लीप’को अवधारणा अनुसार एउटै छाना मुनिबाट विपद् जोखिम न्युनिकरण/व्यवस्थापनका संयन्त्रहरूको परिचालनको व्यवस्था मिलाइने महानगरले भनेको छ ।
महानगरका अनुसार डीआरआर सेन्टरको समन्वयमा रहने गरी विभिन्न स्थानमा डीआरआर सवसेन्टर स्थापना गर्ने विपद् पूर्वतयारीमा अर्ली वार्निङ सिस्टम जडानलाई निरन्रता दिइनेछ । हरेक वडामा विपद् स्वयंसेवक समूह गठन र परिचालनको व्यवस्था गरिने महानगरको भनाइ छ ।
भदौ १ देखि घरघरमा निःशुल्क स्वास्थ्य सेवा
ललितपुर महानगरले आगामी आवको भदौ १ गतेदेखि चिकित्सक, आवश्यक औषधी, उपकरणसहितको निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसअघि साउन १ गतेबाट लागू हुने भनिएपनि आवश्यक गृहकार्य, कार्यविधि बनाउन समय लाग्ने भएकोले भदौ १ गतेबाट हुने भएको प्रमुख महर्जनले जानकारी दिए ।
उनका अनुसार चिकित्सकसहितको निशुल्क स्वास्थ्य सेवा नगरभित्र बसोबास गर्ने सबै बासिन्दाले लिन सक्नेछन् ।
महानगर प्रमुख महर्जनले भने, ‘कार्यक्रम सुरु गर्नुअघि कार्यविधि आवश्यक पर्छ, कार्यविधि कार्यपालिकाबाट पनि पास गर्नुपर्ने हुन्छ । अहिले हामीले कार्यविधि बनाउँदैछौं, कार्यविधि कार्यपालिकाबाट पास भएपछि यो सेवा सुुरु हुने छ।’
आगामी आवदेखि सञ्चालन गर्न लागेको महानगरको अर्को महत्त्वूर्ण कार्यक्रम हो, विद्यार्थीको लागि खाता खोली बचत गर्ने अभियान । बैंक तथा वित्तीय संस्था एवं निजी क्षेत्रको सहकार्यमा सामुदायिक विद्यालय सुदृढीकरण र स्तरोन्नतिका लागि महानगरले यो अभियान सुरु गर्न लागेको छ ।
यो अभियानअन्र्तगत सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको हाजिर राम्रो होस् भनेर हाजिर भएको दिनमा महानगरले खातामा २ रुपैयाँ, बैंकले २ रुपैयाँ र बाबुआमाले २ रुपैयाँ गरी दैनिक ६ रुपैयाँ जम्मा हुन्छ । महानगरका अनुसार १२ कक्षा पास भएपछि त्यो पैसा विद्यार्थीले पाउनेछन् ।
यसबाहेक महानगरले यसअघि नै सुरु गरेको ६८ वर्ष पूरा भएका जेष्ठ नागरिकलाई निमोनिया र इन्फ्लुन्जाविरुद्धको निशुल्क खोपलाई आगमी आवमा निरन्तरता दिने भएको छ ।
अर्को महिलाहरूलाई पाठेघरको मुख र स्तनमा हुने क्यान्सरको स्किनिङ्ग तथा उपचारको व्यवस्थाका साथै कोलोन क्यान्सर स्क्रिनिङ्ग सेवाको सुरुवात महानगरले गरेको छ । महानरले आगमी आवमा ई-लाइब्रेरीसहितको सहितको शारदा पुस्तकालय सिटी लाइबेरी पुनः सञ्चालन गर्ने भएको छ ।