काठमाडौं । नेप्सेले नयाँ वर्ष २०७४ साललाई रातो झण्डा देखाएको छ । नयाँ वर्षमा पहिलो दिन खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा नेप्से परिसूचक ४५ दशमलब ५२ अंकले घटेर १६५१ दशमलब ६१ अंकमा झरेको छ ।

दोहोरो अंकले घटेको बजारमा सेयर कारोबारमा भने सामान्य गिरावट भएको छ । आइतबार बजारमा एक अर्ब २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा २७ करोड रुपैयाँ घटी हो । कुल १३५ कम्पनीको कारोबार भएको आइतबारको बजारमा १६ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ ।
बजारमा कारोबार भएका सबै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३२२ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ८ र ४ अंकले ओरालो झरेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका हुन् ।