काठमाडौं । साताको अन्तिम दिन कारोबार हुने बिहीबारको बजारमा ९० करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २९ करोड रुपैयाँ बढी हो । यस अघि मंगलबारको बजारमा ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा बढी सनराइज बैंकको सेयर कारोबार भएको छ । बैंकको ७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ , जसको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ रहेको छ । त्यस्तै, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. प्रमोटर सेयरको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १४७ कम्पनीको २० लाख कित्ता सेयर किनबेच भएको छ ।
बजारमा कारोबार भएका सबै समूहका परिसूचक हरिया भएका छन् । बीमा, हाइड्रोपावर र अन्य समूहको परिसूचक दोहोरो अंक अर्थात क्रमशः ४५, १९ र १८ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी ६ समूहको परिसूचक सामान्य अंकले बढेका छन् ।
समग्रमा बिहीबार नेप्से परिसूचक ७ दशमलब ७७ अंकले उकालो लागेर १६५८ दशमलब ५८ अंकलमा पुगेको छ । केही दिन यता सेयर बजार निरन्तर उकालो लागिरहेको छ ।