काठमाडौं । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड गाभिने प्रस्ताव पारित भएको छ । बिहीबार बसेको बैंकको नवौं वार्षिक साधारण सभाले उक्त दुई कम्पनी एक आपसमा गाभिने प्रस्तावलाई पारित गरेको हो ।

दुई कम्पनी गाभिए पश्चात लुम्बिनी बिकास बैक नामबाट एकिकृत कारोबार शुरु हुने भएको छ । गाभिए पश्चात बन्ने लुम्बिनी बिकास बैकको पूँजी २ अर्ब ३७ करोड १८ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
साथै, सभाले गाभिए पश्चात कायम हुने चुक्ता पूँजीको १० प्रतिशत (१०ः१) को दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ । हाल बैंकको कुलनिक्षेप १५ अर्व ६ करोड रुपैयाँ र कर्जा १३ अर्व ५६ करोड रुपैयाँ रहेको छ । साथै, बैंकले आर्थिक वर्षको तेश्रो क्रैमास सम्ममा २२ करोड खुद मुनाफा गर्न सफल भएको जनाएको छ ।
त्यसैगरी, बैकका ४४ शाखा र १२ ओटा एटीएम रहेका छन् । डिल्लीबजारमा केन्द्रिय कार्यालय रहेको बिकास बैंकको संचालक समितिको अध्यक्षमा सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनाल रहेका छन् । यसैगरी संचालक समितिका सदस्यमा अशोकराज पाण्डे, डा. रुप ज्योति, हरिप्रसाद रिमाल, राजेशकुमार अग्रवाल र प्रेमराज तिवारी रेहेका छन् ।