काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारणलाई ४० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले श्री ईनोभेटिभ डेभलप्मेन्ट बैंक लि. तथा श्री अरनिको डेभलप्मेन्ट बैंक लि को प्राप्ती पश्चात् कायम हुने पूँजीमा सो मात्राको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

दुई बैंक प्राप्ती पश्चात बैंकको एकिकृत पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ । सोही पूँजीमा ४० प्रतिशत (अर्थात १८,८५४,२५७ कित्ता शेयर) को एक अर्व ८८ करोड ५४ लाख २५ हजार ७०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ ।
साथै, बैंकले सो मात्राको सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सुन्धारामा रहेको सिभिल क्यापिटल मार्केट लिमिटेडलाई विक्री प्रवन्धकमा नियुक्त गरको छ । उक्त नियुक्त सम्बन्धी सम्झौतामा सेञ्चुरी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा सिभिल क्यापिटल मार्केट लि. का प्रमुख कार्यकारी अधिकृत पराग विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
आ.व. २०७३/७४ को चैत्र मसान्त सम्म सेन्चुरी बैंकले कुल निक्षेप ३३ अर्ब १४ करोड रुपैयाँ र कर्जा रकम ३० अर्ब ०७ करोड रुपैयाँ परिचालन गरेको छ । साथै, सोही अवधिसम्म बैंकले ४७ करोड ११ लाख रुपैयाँ सञ्चालन मुनाफा र ३१ करोड ०९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।