अब निर्माण हुने जलाशययुक्त आयोजना कम्तिमा पनि ५० वर्ष टिक्नु पर्ने नियम बनेको छ । कतिपय जलाशयहरू निर्माण भएको छोटो अवधिमा भत्किने तथा ढुंगा, माटो तथा लेदो भरिने भएकाले यस्तो हुन नदिन जलाशय निर्माण हुनुपर्ने व्यवस्था गरिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ विद्युत खरिद सम्झौता (पीपीए) सम्बन्धी कार्यविधिमा जलाशय आयोजना निर्माण गर्न नयाँ व्यवस्था थपिएको हो । सरकार वा निजी क्षेत्र जुनसुकै क्षेत्रले अब जलाशय आयोजना निर्माण गर्दा जलाशय (डेड स्टोरेज भोलुम) कम्तिमा ५० वर्ष हुने गरी डिजाइन गर्नुपर्ने छ ।
सरकारको नियम विपरि अब जलाशययुक्त आयोजना निर्माण गर्न पाइने छैन । जलाशय आयोजनाहरू सयौं वर्ष टिकेपनि तर, ढुंगा माटो भने भरिने गरेको छ । अब बन्ने जलाशययुक्त आयोजनामा सेडिमेन्ट भरिनु भएन ।
मन्त्रालयका अनुसार अब निर्माण हुने जलाशय कम्तिमा ५० वर्ष टिक्नैपर्ने र ढुंगा, बालुवा तथा लेदो (सेडिमेन्ट) नभरिने गरी डिजाइन गरिएको हुनुपर्ने नियम बनाएका छौं,’ ऊर्जा मन्त्रालयका प्रव्रक्ता दिनेश घिमिरेले भने ‘दिगो ऊर्जा विकासलाई प्राथमिकतामा राख्दै यस्तो नियम बनाइएको हो । यो नियम यहि वैशाख १४ देखि कार्यान्वयनमा आएको हो ।
सरकार वा निजी क्षेत्र जोसुकैले अब जलाशय आयोजना निर्माण गर्दा जलाशय (डेड स्टोरेज भोलुम) कम्तिमा ५० वर्ष हुने गरी डिजाइन गर्नुपर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।