काठमाडौं । नयाँ बजेटमा सर्लाहीको लालबन्दीदेखि बाराको निजगढसम्म रेल मार्ग निर्माणका लागि रकम विनियोजन हुने भएको छ । ९४५ किलोमिटर लामो मेची–महाकाली विद्युतिय रेल मार्गको लालबन्दीदेखि निजगढसम्मको करिब ४० किलोमिटर क्षेत्रका लागि बजेट विनियोजन हुन लागेको हो ।
‘आगामी आर्थिक बर्षमा लालबन्दीदेखि निजगढसम्मको ४० किलोमिटरमा खण्डमा सिभिल इञ्जिनियरिङको काम गर्न बजेट बनाएर पठाएका छौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । उनका अनुसार ४० किलोमिटर लामो सो खण्डको सिभिल इञ्जिनियरिङका लागि एक अर्ब बजेट निर्माण गरिएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक बर्षमा रेल विभागका लागि ४ अर्बको बजेट सिलिङ तोकेको छ । विभागले सोही सिलिङ भित्र रहेर लालबन्दीदेखि निजगढ खण्डमा नयाँ काम थाल्ने योजना पेश गरेको हो । विभागले हाल बर्दिबासदेखि लालबन्दीसम्मको २५ किलोमिटर खण्डमा रेल मार्गको सिभिल इञ्जिनियरिङको काम गरिरहेको छ ।आगामी आर्थिक बर्षमा ४० किलोमिटरको काम अघि बढेपछि मेची महाकाली रेलमार्गमा ६४ किलोमिटरमा काम सुरु हुनेछ ।
६५ किलोमिटरको काम सम्पन्न गरेपछि सो खण्डमा पाइलट प्रोजेक्टका रुपमा रेल गुडाइनेछ ।‘६५ किलोमिटरमा सिभिल इञ्जिनियरिङको काम सम्पन्न गरेपछि लिक बिछ्याउने काम अघि बढ्छ र त्यसपछि डिब्बा राखेर रेल गुडाउने हो’, उपाध्यायले भने । विभागले हाल लालबन्दी निजगढ खण्डमा जग्गा एकिन तथा कित्ता काँटछाँटको काम गरिरहेको छ । यसरी निर्माण गरिने रेलमार्गमा प्रति घण्टा २०० किलोमिटरको स्पिड क्षमता रहनेछ ।