काठमाडौ । यस वर्ष ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ विभिन्न जिल्लाका पाँच जनालाई प्रदान गरिने भएको छ । यही जेठ १५ गते राष्ट्रपति कार्यालयमा सो पुरस्कार प्रदान गरिनेछ ।
कृषि विकास मन्त्रालयमा कृषि सचिव डा सुरज पोखरेलको अध्यक्षतामा बसेको बैठकले सर्लाही, हरिपुर नगरपालिका–९ का माछापालन व्यवसायी अफजल हुसेन, नवलपरासी हप्सेकोट गाउँपालिका–३ का तरकारी खेती गर्ने कृषक थमबहादुर रजाली मगर, डडेल्धुरा अजयमेरु गाउँपालिका–४ का बाख्रापालक खडकसिंह विष्ट र पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का इन्द्रकुमारी लावतीलाई एकीकृत खेतीको विकासका लागि सो पुरस्कार दिने निर्णय गरेको छ ।
यस्तै नेपालगन्ज उपमहानगरपालिका–५ बाँकेका सुमेर शम्शेर जबरालाई मत्स्य प्रजनन व्यवसायका क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै पुरस्कृत गर्ने निर्णय गरेको मन्त्रालयका अधिकृत सुरेशबाबु तिवारीले जानकारी दिए ।