सरकारले आगामी आर्थिक वर्ष २०७४/२०७५ का लागि पौन १३ खर्ब भन्दा बढीको बजेट ल्याउने भएको छ । व्यवस्थापिका संसद्मा अर्थ मन्त्री कृष्णवहादुर महराले सोमबार १२ खर्ब ८० अर्बको बजेट पेश गर्ने तयारी गरेका छन् । राष्ट्रिय योजना आयोगले आगामी आवको लागि ११ खर्ब ५६ अर्बको बजेट सीमा दिएपनि सरकारले स्थानीय तहलाई बजेट दिनुपर्ने भन्देै दुई खर्ब ३२ अर्ब बढाएर बजेट ल्याउन लागेको हो ।
सोमबार ल्याउन लागेको बजेट चालुको आवको भन्दा २२ प्रतिशतले बढी हो । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ४८ अर्ब रुपैयाँको बजेट ल्याएको छ । स्थानीय तहलाई बजेट दिने सम्बन्धमा मन्त्रालय र सरकारबीच एक मत हुन सकेको छैन । त्यसो त बजेट निर्माणकै क्रममा धेरै मतभेद र विवाद्हरू पनि नआएका होइनन् ।
सरकार स्थानीय तहलाई बढी बजेट दिने सोचमा छ भने मन्त्रालय भरसक बजेट कस्ने सोचमा छ । जे भएपनि स्थानीय तहका लागि तीन अर्बसम्म बजेट भागमा पर्न सक्ने देखिएको छ ।
अर्थ मन्त्रालयले चुनाव तथा स्थानीय तहका लागि बजेट दिनुपर्ने भन्दै नयाँ कार्यक्रम नआउने बजेट बनाएपनिबजेट अंक भने बढाएको छ । बजेट स्रोतका लागि सरकारले ७ खर्ब २० राजस्वबाट संकलन गर्ने भएको छ भने ३ खर्ब वैदेशिक अनुदान, साढे एक खर्ब वैदेशिक ऋण र एक खर्ब चालु आवको बचत तथा साँवाबाट बजेट स्रोत जुटाउने भएको छ ।