काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले एउटै निर्माण व्यवसायीले एउटा भन्दा बढि ठेक्का लिन नपाउने व्यवस्था गर्न लागेको छ । मन्त्रालयले वर्तमान खरिद नियमावलीलाई संसोधन गरेर एउटा कम्पनीले प्राप्त गरेको ठेक्काको काम सम्पन्न नगर्दासम्म अर्काे ठेक्कामा आवेदन नै दिन नपाउने व्यवस्था गर्न लागेको हो ।

‘एउटा निर्माण कर्ताले चार वटा काम लिन्छ, फेरी पाँचौं काम लिन्छ र छैँठौं पनि लिन्छ, तर ती कुनै पनि काम समयमा सम्पन्न गर्दैन, अब आफुले लिएको काम सम्पन्न गर्नुपर्ने समय वितिसकेको अवस्थामा नयाँ कामको ठेक्का हाल्नै नपाउने व्यवस्था गर्दैछौं’, मन्त्री लेखकले भने । उनले निर्माण कर्ता कम्पनीले पाएको ठेक्का अनुसारको काम सम्पन्न गरेपछि मात्रै नयाँ कामको ठेक्कामा आवेदन दिन पाउने व्यवस्था गर्न लागिएको बताए ।
बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री लेखकले ठुला पुर्वाधारका आयोजना निर्माण सम्पन्न गरेको पाँच बर्षपछिसम्म निर्माण कर्ता कम्पनीले नै मर्मत सम्भार गर्ने व्यवस्था समेत ल्याउन लागेको बताए ।‘ठुला पुर्वाधार आयोजना निर्माण सम्पन्न गरेको पाँच बर्षपछिसम्म निर्माण कर्ता कम्पनीले नै मर्मत सम्भार गर्नुपर्ने व्यवस्था ल्याउँदैछौं, निर्माण सामग्रीको खराबी वा निर्माणसँग सम्बन्धित कमजोरीले हुने समस्या समाधानमा यसले राम्रो भूमिका खेल्छ’, मन्त्री लेखकले भने ।