काठमाडौं । नेपाल टेलिकमले धरहराको डिजाइन र प्रस्तावित लागतमाथी छलफल थालेको छ । पुरातत्व विभागले तयार पारेको धरहराको अनुमानित लागत र डिजाइनबारे टेलिकमले विगत ३ हप्तादेखि व्यापक अध्ययन अघि बढाएको हो । ‘हामीले ३ अर्ब ६७ करोडको लागत अनुमान

प्रस्तावित धरहराकाे स्केज
सहित पुरातात्विक ढंगले धरहराको डिजाइन तयार पारेर नेपाल टेलिकमलाई बुझाएका छौं, उनीहरुले आफ्नो व्यवसायीक अध्ययन गरेपछि थोरै परिमार्जन गरेर निर्माण प्रक्रिया अघि बढ्छ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले विकासन्युजसँग भने ।
उता, नेपाल टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले पनि धरहराको अनुमानित लागतसहितको डिजाइन आईपुगेको र त्यसबारे टेलिकमको उच्च तहले अध्ययन गरिरहेको बताए । ‘धरहराको डिजाइन र लागत अनुमानसहितको प्रतिवेदन टेलिकममा आइपुगेको छ, केहि चरण आन्तरिक छलफल समेत भैसकेको छ, बोर्ड बैठकले पारित गरेपछि मात्रै बाँकी प्रक्रिया अघि बढ्छ’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले विकासन्युजसँग भने ।
टेलिकमले केहि हेरफेर गरेपछि मात्रै धरहराको डिजाइनले अन्तिम रुप लिनेछ । हाल अनुमान गरिएको ३ अर्र्ब ६७ करोडको लागत पनि केहि बढ्न सक्नेछ । टेलिकमले करिब ४२ रोपनी क्षेत्रफलमा ११ तल्ले धरहरा निर्माण गर्नेछ । टेलिकमले निर्माण सम्पन्न गरेको ३० बर्षमा सोही धरहरा सञ्चालन गरेर निर्माण लागत तथा मुनाफा समेत कमाउनु पर्नेछ ।
धरहरामा २ तल्ला अण्डर ग्राउण्ड पार्किङ तथा सुबिधा सम्पन्न पार्क, लिफ्ट, क्याफे, लाइब्रेरी लगायतका आधुनिक सुबिधा रहनेछन् ।