मन्त्रालय भागबण्डा मिलाएर भोली प्रधानमन्त्रीको निर्वाचन, देउवा र वमादेव प्रधानमन्त्रीमा भिड्दै

<p>काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन् । तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार पत्र पठाउने तयारी गरेका छन् । देउवाले प्रधानमन्त्रीका लागि मनोनयन गर्नसाथ समर्थन जुटाउन पत्र पठाउने तयारी शुक्रबार नै गरेका हुन् । सरकार गठन [&hellip;]</p>

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमै रहेका दलहरुलाई सहभागि गराएर सरकार गठनको गृहकार्य थालेका छन् । तर, उनले आफ्नो पक्षमा समर्थन जुटाउन भने संसदमा प्रतिनिधित्व गरेको सबै दललाई शनिबार पत्र पठाउने तयारी गरेका छन् ।

देउवाले प्रधानमन्त्रीका लागि मनोनयन गर्नसाथ समर्थन जुटाउन पत्र पठाउने तयारी शुक्रबार नै गरेका हुन् ।

सरकार गठन र मन्त्रालय भागबण्डा मिलाउन अनौपचारिक तहमा गठित कार्यदलले तत्काल सकारमै रहेका दलहरुलाई साथमा लिएर सरकार गठन गर्नेगरी मन्त्रालय भागबण्डाको कसरतमा जुटेको छ । सरकार गठन र मन्त्रालयको भागबण्डा मिलाउन देउवाले कांग्रेस नेताहरु बीमलेन्द्र निधि, रमेश लेखकलाई र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुनलाई जिम्मेबारी दिएका छन् ।

वर्तमान गठबन्धनमा मुख्य सुत्रधार मध्येका यी सदस्यले कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा करिब समझदारी जुटाएका छन् । शक्ति र प्रभावको हिसाबले अब्बल मानिने गृह, अर्थ, सूचना तथा संचार, भौतिक योजना तथा पूर्वाधार, स्थानीय विकास, परराष्ट्र र उर्जा मन्त्रालयमा भागबण्डा करिब टुंगाईएको स्रोतले बतायो । गृह र अर्थ मन्त्रालय कांग्रेस र माओवादीबीच साटिने भएको छ । दाहाल नेतृत्वको सरकारमा कांग्रेसले लिएको गृह मन्त्रालय देउवा नेतृत्वमा माओवादीले लिने भएको छ । माओवादीले लिएको अर्थ मन्त्रालय कांग्रेसले सम्हाल्ने पक्कापक्की छ ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र अन्य साना दलले भने हाल सम्हालेकै मन्त्रालय पाउने संभावना प्रवल छ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेकोमा असन्तुष्टी जनाउँदै राप्रपाले सरकार छाडेपछि गच्छदार सरकारमा आएका थिए । कांग्रेस र माओवादीले लिएका मन्त्रालय पनि केहीबाहेक अधिकांश साट्ने तयारी छ ।

हाल कांग्रेसले सम्हालेका माओवादीलाई र माओवादीले सम्हालेकामा कांग्रेसलाई दिनेगरी मन्त्रालय भागबण्डा मिलाउने प्रयास छ । कांग्रेस नेता लेखकले मन्त्रालय भागबण्डा र सरकार संचालनलाई सहजता ल्याउनेगरी छलफल भईरहेको बताए । ‘मन्त्रालय भागबण्डा टुंगिसकेको पनि छैन, दुई दलबीच विवाद पनि छैन,’ लेखकले कान्तिपुरसँग भने, ‘अहिले सरकारमै रहेका दलहरुलाई सामेल गरेर सरकार गठन गर्ने तयारी भईरहेको छ । कान्तिपुर दैनिकबाट ।

एमालेबाट वामदेव गौतम प्रधानमन्त्रीको सम्भावित उम्मेद्वार
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको उम्मेदवार उपाध्यक्ष वामदेव गौतमलाई बनाउने तयारी गरेको छ ।

चितवनको मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले मतगणना गर्ने गरी ठोस निर्णय गरे आइतबार बस्ने संसद् बैठक अवरोध खोल्ने सङ्केत एमालेले गरेको छ । संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचन आइतबार गराउने गरी तयारी गरिरहेका बेला एमालेको पछिल्लो धारणा आएको हो ।

तर, आयोगले निर्णय गर्न विलम्ब गरे वा पुनः मतदान गर्ने गरी निर्णय गरेमा संसद् बैठक अवरोध कायमै राख्ने एमाले नेताहरूले जानकारी दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने तयारी गरिरहेका बेला एमालेले उनलाई सर्वसम्मत हुन नदिने गरी उम्मेदवार अगाडि सार्न लागेको हो।

यद्यपि यसबारेमा एमालेले अझै आधिकारिक निर्णय भने गरिसकेको छैन।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गौतमलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने अनौपचारिक चर्चा भए पनि सचिवालयबाट आधिकारिक निर्णय भइनसकेको बताइन्। तर, देउवालाई सर्वसम्मत प्रधानमन्त्री हुन भने नदिइने उनले प्रस्ट पारिन्।

स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा एमालेले समर्थन गर्न नसक्ने बताए। त्यसको विकल्पमा पार्टीले उपाध्यक्ष गौतमलाई अगाडि सार्ने तयारी गरेको उनको भनाइ छ । पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार एमालेले सत्ता समीकरणको विषयमा आन्तरिक छलफल सुरु गरेको छ । गोरखापत्र दैनिकबाट ।

Share News