काठमाडौं । एनसेलले आइतबार १३ अर्ब ६० करोड रुपैयाँ कर तिरेको छ । आन्तरिक राजश्व विभागका उपमहानिर्देक तथा प्रबक्ता चन्द्रकला पौडेलको अनुसार एनसेलले करिब डेढ वर्षाअघिकाे सेयर कारोबार गर्दा लाग्ने पुँजीगत लाभकर बाफत उक्त कर तिरेको हो ।

‘एनसेलले आज १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार ७ सय ११ रुपैयाँ कर तिरेको ठूला करदाता कार्यलयले जानकारी गराएको छ’ उपमहानिर्देक पौडेलले विकासन्युजसँग भनिन् ।
एनसेलले बुझाएको कर कुन हो ? भन्ने जिज्ञासामा उनले भनिन्–‘पुँजीगत लाभ कर र नाफामा लाग्ने आय कर दुबै एउटै शिर्षकमा जम्मा हुन्छ । अहिले नाफामा लाग्ने आयकर बुझाउने समय होइन, पक्कै पनि पुँजीगत लाभकर बुझाएको हुनुपर्छ ।’
टेलिया सोनेराले एक्जिएटालाई ८० प्रतिशत सेयर बिक्री गरेपछि एनसेलले यसअघि करिब १० अर्ब रुपैयाँ पूँजीगत लाभकर बापत सरकारलाई तिरेको थियो । उक्त कारोबारमा करिव ३५ अर्ब रुपैयाँ कर लाग्ने विज्ञहरुले सरकारलाई सुझाव दिएका थिए ।
सेयर बिक्री गर्ने टेलियासोनेरालाई पुँजीगत लाभ लाग्ने तर्कसहित सरकारले सोही कम्पनीसँग लाभकर लिनु पर्ने एनसेलको नयाँ एक्जिएटाको अडान थियो । पुँजीगत लाभ कर टेलियो सोनेराले तिर्ने वा एक्जिएटाले तिर्ने भन्नेमा फरक फरक विचारहरु सार्वजनिक भईरहेको थिए ।