काठमाडौ । ताइवानिज एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा ११ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । सो प्रतिनिधि मण्डलले यही जेठ २८ गते आइतबारका दिन काठमाडौंको दरबारमार्ग स्थित अन्नपूर्ण होटेलमा नेपाली व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने बताइएको छ ।
उक्त प्रतिनिधि मण्डलमा विद्युतीय तथा सञ्चार प्रविधिका सामान, सौर्य उर्जा सामग्री, गाडीका पार्टपुर्जा, मशीनरी, कृषि सामग्री, गार्मेन्ट, टेक्स्टाइल, ब्यागेज, वाटरफिल्टर आदि सामानका उत्पादक तथा वितरकहरु रहने जनाइएको छ । नेपाली व्यवसायीहरुले आफ्नो रुचिको व्यवसाय अनुसार सम्वन्धित ताइवानी व्यवसायीहरुसँग भेटघाट तथा व्यापारिक समझदारी गर्न सक्नेछन् ।
यस भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबाट नेपाली व्यापार व्यवसायीहरु ताइवानी उत्पादक तथा वितरकहरुको प्रत्यक्ष सम्पर्कमा आउनुका साथै आफ्नो व्यापार विस्तार गर्न सक्षम हुने विश्वास आयोजकको छ ।