काठमाडौं । नबिल बैंकले एशोसिएशन अफ सेन्ट मेरिज एल्मुनाई नेपालसँग सहकार्य गरी बेबी लाईफ होम किर्तिपुरलाई .एक लाख पन्ध्र हजार रुपैयाँ बराबरको खाने कुरा, स्टेशनरी तथा अन्य देनिक रुपमा आवस्यक पर्ने सामाग्रीहरु प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यी सामाग्रीहरु त्यहाँ वस्ने बालबालिकाहरुलाई वितरण गर्नको लागि गत बिहीबार बेबी लाईफ होमलाई हस्तान्तरण गरको हो ।
बेबी लाईफ होम एचआई भी लागेका अनाथहरुको लागि स्थापना गरिएको एक अनाथालय हो र यसले एचआईभी संक्रमित बालबालिकाहरुलाई खाना, आवास तथा शिक्षा प्रदान गर्दछ । हाल बेबी लाईफ होमले नेपालको विभिन्न क्षेत्रबाट आएका ५ देखी १८ वर्षको उमेर समुहका २३ जना बालबालिकाहरुलाई संरक्षण र हेरचाह प्रदान गरिरहेको छ र ती बालबालिकाहरुलाई एचआइभी संक्रमितको लागि स्थापना गरिएको पहिलो विद्यालय सफलता एचआईभी शिक्षा सदनबाट शिक्षा प्रदान गरिरहेको छ ।
नबिल बैंकका नायब महाप्रवन्धक रमेशप्रसाद लोहनीले उक्त सामाग्रीहरु बेबी लाईफ होमलाई हस्तान्तरण गर्नु हुंदै यस्तो उत्कृष्ट सेवाको काममा सहभागि हुन पाएकोमा सन्तुष्टी व्यक्त गरेका थिए ।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तररुपमा सहयोग प्रदान गरी सहयोगको अझ बढी प्रतिवद्धताका साथ लागि परेको छ ।