काठमाडौं । सहरी सडकहरुमा दुर्घटना बढिरहेकै बेला ट्राफिक नियम सबैभन्दा बढी उल्लंघन गर्नेमा भीआइपी सवारी र सरकारी सवारीसाधन भएको पाइएको छ। ट्राफिक व्यवस्थापनमा खटिएका उच्चअधिकारीहरुको नै भीआइपी र सरकारी सवारीका क्रममा नियम उल्लंघन हुँदा त्यसको प्रत्यक्ष प्रभाव जनतालाई परेको निष्कर्ष छ।
नीतिनियम बनाउने ठुलाबडाले नै सडकको प्रयोग जथाभावी गरेपछि जनतामा परेको प्रभावका कारण नियम र लेन मिचिने हुँदा दुर्घटना बढेको ट्राफिकको बुझाई छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरीनायव महानिरीक्षक मिङ्मार लामाले कानुन कार्यान्वयनका क्रममा ट्राफिकले सबैलाई समान हिसाब व्यवहार गर्नुपर्ने भए पनि विविध कारणले नसकिरहेको गुनासो गरे।
‘त्यसमा भीभीआइपी सम्म त ठिकै हो तर भीआईपीहरुले पनि लेन मिचेर जाने र त्यो ट्राफिकलाई जानकारी नदिने गर्दा जनताको नजरमा के यो नियमचाँहि जनताले मात्रै पालना गर्नुपर्ने हो ? ठुलोबडाले पालना गर्नुपर्दैन रु भन्ने नकारात्मक विचारले पब्लिकमा विकास भएको अवस्था छ’, विकास समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उनले भने, ‘भीआइपीको मुभमेन्टलाई ख्याल गर्नुपर्ने अवस्था छ। लेन मिच्नेमा सरकारी सवारीसाधन निकै छ।’
महाशाखाको आर्थिक वर्ष २०७३/७४ को तथ्यांक हेर्ने हो भने सडक नियम उल्लंघन गरेका कारण कारबाहीमा पर्नेको संख्या ३ लाख २३ हजार ७ सय ९१ छ। जसमध्ये १ लाख २४ हजार ७ सय ५४ ले लेन अनुशासन भंग गरेका छन्। यसैगरी, जेब्रा क्रसिङमा नरोकेका कारण कारबाहीमा पर्नेको संख्या ६ हजार ७ सय ९९ छ। अन्नपूर्ण पोस्टबाट ।