काठमाडौं । लामो समयको विवाद र प्रतिक्षा पछि अन्ततः श्रमिकहरूको सामाजिक सुरक्षा गर्न बनेको विधेयक व्यवस्थापिका संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पारित गरेको छ । अब विधेयक व्यवस्थापिका संसद्ले पारित गरेपछि सामाजिक सुरक्षा कोषमा रहेको करिब १४ अर्बभन्दा बढी रकमको पनि परिचालन हुनेछ । विधेयक पारित भएपछि सवा करोड श्रमिक लाभान्वित हुनेछन् । समितिमा पेस भएको विधेयक ८ महिनापछि पारित गरेको समितिले जानकारी दिएको छ ।
मंगलबार पारित भएको विधेयकमा रोजगारदाता कम्पनीबाट २० प्रतिशत, श्रमिकबाट ११ प्रतिशत र करबापत १ प्रतिशत गरी कुल ३२ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा संकलन हुने व्यवस्था गरिएको छ । यसले श्रमिकको भविश्यलाई सुनिश्चित गर्नेछ । करीव ४ वर्षअघि नै तयार भएको यो विधेयक मंगलवार पारित भएको हो । एक अध्ययनले नेपाली श्रम बजारमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा गरी करिव १ करोड २० लाख श्रमिक रहेका छन् ।
विधेयकले बेरोजगारलाई भत्तादेखि वृद्ध अवस्थामा समेत समाजिक सुरक्षा भत्ता पाउने गरी कोषको व्यवस्था गरेको छ । चोटपटक तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना र दूर्घटना तथा अशक्त सुरक्षा योजनालाई प्रत्याभूत गरिएको छ भने आश्रित परिवारका लागि समेत सुरक्षा योजना, कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजना लगायतलाई समेटेको छ । समितिबाट पारित भएसँगै उक्त विधेयक अब व्यवस्थापिका संसदमा पेस हुनेछ ।