काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंक र नेपाल बङ्गलादेश बैंकको गरी १८ लाख ४५ हजार ५५६ कित्ता सेयर लिलामीमा रहेको छ । सो मात्राको सेयरको लागि दुबै बैंकले असार १४ गते(भोली) देखि बिक्री खुला गरेका छन् ।
सिद्धार्थ बैंकको ८ लाख ५७ हजार ४३६ कित्ता सेयर लिलामीमा आएको छ । कम्पनीको ४ लाख ५ हजार ८८८ कित्ता संस्थापक र ४ लाख ५१ हजार ५४८ कित्ता सर्वसाधारण सेयर गरि सो मात्राको सेयर लिलामीमा आएको हो ।
कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा संस्थापक र सर्वसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो । बैंकले वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेको ८ लाख ५७ हजार ४३६ कित्ता सेयरहरु लिलामीमा राखेको हो ।
बैंकले उक्त सेयर न्यूनतम मूल्य प्रतिशत १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । बोलकबोलको सेयर असार १४ गतदेखि खुला गरिने छ । साथै, असार २१ गतेसम्ममा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङमा आवदेन गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै, नेपाल बङ्गलादेश बैंकको ९ लाख ८८ हजार १२० कित्तासेयर लिलामीमा आएको छ । बैंकको १९ हजार ५११ कित्ता संस्थापक र ९ लाख ६८ हजार ६०८ कित्ता सर्वसाधारण सेयर गरी सो मात्राको सेयर लिलामीमा राखेको हो ।बैंकले वैशाख ७ गतेदेखि जेठ १० गतेसम्म निष्काशन गरेको हकप्रद सेयरमा सर्बसाधारणको तर्फबाट आवेदन नपरेको सेयर लिलामीमा राखेको हो ।
बैंकले उक्त सेयर न्यूनतम मूल्य १०० राखेर बढाबढ मूल्यमा बिक्रीमा राखेको हो । कम्तिमा १०० कित्तादेखि लिलामीमा राखिएको सबै सेयरको लागि एकै व्यक्तिले आवदेन गर्न सक्ने बैंकले जनाएको छ । असार २१ गतेसम्ममा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा आवदेन गर्न सकिनेछ ।