चितवन । आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागको टोलीले सोमबार चितवनका ५ व्यवसायीक प्रतिष्ठानहरु बन्द गराएको छ । बिभागका शाखा अधिकृत दुण्डिराज पोख्रेल र राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष तिर्थ मर्हजन सहितको नेतृत्वमा आएको केन्द्रिय टोलीले गरेको संयुक्त अनुगमनका क्रममा म्याद नाघेका बस्तुहरु बेच्ने र नियमविपरीत ब्यवसाय सञ्चालन गर्ने पाँच ब्यापारिक प्रतिष्ठानहरुलाई बन्द गराएको हो ।
उपोभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने नियतले सञ्चालित नारायणगढको शर्मा आईसक्रिम, भरतपुर रामनगरको न्यु शिवशंक्ती होटल शुष्मा होटल, आनन्दमार्गको श्री टेडर्स र ओम सत्य साई गल्ला पसललाई प्रशासनले बन्द गराएको हो । यी मध्ये शर्मा आईसक्रिमले आवश्यकता भन्दा बढि रगंको प्रयोग गरेको , भरतपुर रामनगरको न्यु शिवशंक्ती होटल शुष्मा होटलले अस्वास्थ्यकर खाना खुवाएर उपोभोक्ताको स्वास्थ्य माथि खेलवाड गरेको, आनन्दमार्गको श्री टेडर्सले १२ वर्ष देखि ब्यवसाय नै दर्ता नगरेको पाइएको छ ।
साथै, ओम सत्य साई गल्ला पसलले बिभिन्न ब्राण्डका १५५ लिटर खाने तेल, र १५ किलो मिश्री र सुरेस एण्ड ब्रर्दश सप्लायर्स बाट म्याद समाप्त भएका ९० प्याकेट क्रिम बिस्कुट र १९ प्याकेट हरलिक्स बिस्कुट , २२ प्याकेट कोकोनट बिस्कुट र १९ प्याकेट ग्लुकोज लगायत अन्य बस्तु बिक्री गरेको पाइएकाले उनीहरुको ब्याबसायी नै बन्द गर्नुपर्ने अवस्था आएको आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागका शाखा अधिकृत दुण्डिराज पोखरेले बताए ।
साथै, उनीहरुलाई एक साता भित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन समेत निर्देशन दिईएको पोखरेलले बताए । यस्तै, अनुगमन टोलीले नारायणगढमा रहेको भाटभटेनीको समेत अनुगमन गरेको छ ।अनुगमनका क्रममा ओखरको उत्पादनमा उपभोग्य मितिका साथै प्याकिगं गरिएको कम्पनीको ब्राण्ड समेत नभएकाले त्यस्ता बस्तु नराख्न र नबेच्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओम नारायण शर्माले जानकारी दिए ।