काठमाडौं । गृह मन्त्रालयले ट्राफिक प्रहरीले पाउँदै आएको जरिवाना वापतको १५ प्रतिशत प्रोत्साहन भत्ता हटाउने भएको छ । गृह मन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको गृह प्रशासन सुधार मार्गचित्र २०७४ मा ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनबाट उठाइने जरिवानाबाट १५ प्रतिशत प्रोत्साहन भत्ता हटाउने योजना अघि सारेका हुन ।
गृह मन्त्री शर्माको योजनामा ट्राफिक प्रहरी कर्मचारीलाई दैनिक अतिरिक्त भत्ताको व्यवस्था गरिने उल्लेख गरिएको छ । त्यस्तै, ट्राफिक प्रहरीको स्वास्थ्य सम्वन्धमा आवश्यक व्यवस्था गर्ने पनि मार्गचित्रमा उल्लेख गरिएको छ । तत्काल काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन आवश्यकता अनुसार चोकमा ट्राफिक बत्तीहरू र सिसिटिभी, जेब्रा क्रसिंग र पार्किडको व्यवस्था गरिने पनि मन्त्री शर्माको योजनामा समेटिएको छ ।
तत्काल राजधानी तथा देशभर सवारी आवागमनमा सहजता रसुरक्षाको प्रत्याभूती गराउन एकिकृत ट्राफिक व्यवस्थापन योजना तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि योजनामा समेटिएको छ ।