काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । बैंकको उक्त प्रस्तावलाई कम्पनीको १६औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।
साथै, सो मात्राको बोनस सेयर पश्चात प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका शेयरधनीहरुलाई जारी गरिएको शेयर तथा १०० प्रतिशत हकप्रद शेयर पश्चात हाल कायम पूँजीको १८.२९ प्रतिशत हुन आउने बैंकले जनाएको छ ।
सभाका अनुसार प्रोफेशनल दियालो विकास बैंकबाट कायम भई आएका शेयरधनीहरु, १०० प्रतिशत हकप्रद शेयरको बाँडफाँडबाट कायम शेयरधनीहरु तथा अवितरित हकप्रद शेयरको लिलामीबाट कायम शेयरधनीहरु समेत उक्त बोनस शेयर पाउन योग्य हुनेछन् । साथै सभाले बैंकको चुक्ता पूँजीमा संस्थापक शेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट विश्वकरण जैन तथा श्रीमति स्वाति रुङ्गटा सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
आ.व. २०७२/७३ मा ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप र ४० अर्ब ३६ करोड रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोड रुपैयाँको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।