काठमाडौं । रसुवागढीमा निर्माण गर्न लागिएको ड्राइपोर्ट(सुख्खा बन्दरगाह)को डिपिआर तयार भएको छ । चिन सरकारको पुर्ण स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले सुख्खा बन्दरगाहको डिपिआर पारेको हो । नेपाल सरकारले सन २०१५ को डिसेम्बरमा कम्पनीसँग ड्राइपोर्टको जिओटेक्निकल सर्भे तथा डिपिआर निर्माणको सम्झौता गरेको थियो ।

‘चिनियाँ कम्पनीले डिपिआर तयार पारेको छ, अब नेपाली पक्षसँक्ष एक पटक छलफल गरेर अन्तिम टुंगो लगाउनेछ’, इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका अधिकृत रबिन्द्र पोखरेलले भने । पोखरेलका अनुसार सुख्खा बन्दरगाहका लागि आवश्यक पर्ने जमिनको अधिग्रहणको काम सम्पन्न भैसकेको छ । चीन सरकारको शतप्रतिशत लगानीमा निर्माण हुने सुख्खा बन्दरगाह नेपाल–चीन सिमा नाकाबाट ३ किलोमिटर भित्र टिमुरे गाविसको घट्टेखोलाको तल्लो डिलदेखि तातोपानी नजिकसम्म सडकबाट नदीतर्फको पूरै भाग, भोटेकोशी नदी किनारको करिब दुई किलोमिटर तटीय क्षेत्रमा पर्छ ।
बन्दरगाहमा लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनीको क्षेत्रफल समेटिनेछ ।
बन्दरगाहमा एक सय ६० वटासम्म कन्टेनर पार्किङ गर्न सकिन्छ । यसले दैनिक ५ सय वटा कन्टेनरलाई आवतजावतको सुबिधा दिन सक्नेछ । हाल सो नाकाबाट दैनिक औसतमा ५० देखि एक सय वटा कन्टेनरबाट समान ढुवानी हुने गरेका छन् ।
२० बर्ष ढुक्क
सो बन्दरगाह निर्माण भएपछि अर्काे १५ देखि २० बर्षसम्म नेपाली बजारका लागि आवश्यक पर्ने समान ढुवानी गर्न सकिने पुर्वानुमान गरिएको छ ।
कस्तो माटो कस्तो डिजाइन ?
माटोको भार वहन क्षमता र भौगर्भिक अवस्थालाई हेरेर चिनियाँ कम्पनीले डिपिआर तयार पारेको छ । ‘जिओटेक्निकल सर्भेमा कुनै माटोले एक मिटर स्क्वायरले ५० केजी तौल थेग्छ भन्ने हुन्छ । कुनैले एक सय र १५० केजी तौल थेग्छ भन्ने हुन्छ । यो रिपोर्ट डिजाइनमै समेटिएको छ । त्यसका आधारमा कस्तो पुर्वाधार बनाउने भन्ने एकिन पनि गरिएको ।’, पोखरेलले भने ।
आगामी १० देखि १५ दिनमै चिनियाँ कम्पनीले तयार पारेको रिपोर्टलाई नेपाली पक्षसँगको छलफलपछि अन्तिम टुंगो लगाउने तयारी भैरहेको पनि पोखरेलले जानकारी दिए ।