काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले बिहिबार सेयर कारोबार बन्द गरिँदा लगानीकर्तामाथी अन्याय भएको बताएको छ । ब्रोकर कम्पनीहरुले कमिसनमा भ्याट तिर्न राजश्व विभागले पत्र काटेपछि बिहिबार कारोबार बन्द गरेका थिए । नेप्सेले नियमित हुनुपर्ने कारोबार बन्द हुँदा लगानी कर्तामाथी अन्याय भएको बताउँदै तत्काल कारोबार खोल्ने वातावरण बनाउन नियामक निकायलाई आग्रह पनि गरेको छ ।
नेप्सेले सेयरको कारोबार बन्द गरिनु सेयर बजारको अन्तराष्ट्रिय मान्यता विपरिद भएको बताउँदै सेयर बजारको मुल मर्मको पनि बर्खिलाप हुने स्पष्ट पारेको छ । ब्रोकरहरुले चार बर्षदेखिको कमिसनमा भ्याट तिर्न नसक्ने भन्दै अनिश्चित कालका लागि सेयर कारोबार रोक्ने घोषणा गरिसकेको छन् । ब्रोकरहरुले सेयर बजारको सर्वाेच्च नियामक निकाय नेपाल धितोपत्र बोडलाई ज्ञापन पत्र समेत बुझाईसकेका छन् ।
उनीहरुले ब्रोकर कमिसनमा भ्याट लगाउन बजेट भाषणमै व्यवस्था हुनुपर्ने र पुरानो अवधीको भ्याट तिर्न नसक्ने भन्दै कारोबार रोक्का गरेका हुन् । ‘भ्याट उपभोक्ताबाट असुलिने कुरा हो र सेयर बजारका उपभोक्ता भनेको लगानी कर्ता हुन, हामीले लगानी कर्तासँग भ्याट असुलेका छैनौं त्यसैले भ्याट तिर्दैनौं’, ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले भने । उनले ब्रोकर कमिसनमा भ्याट लगाउने व्यवस्था संसारमै नभएको समेत दावी गरे ।
