काठमाडौं । नेपाल धितो पत्र बोर्डले सेयर कारोबार तत्काल सुरु गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ । बोर्डले बिहिबार अबेर गरि नेप्सेलाई कारोबार सञ्चालनको उपयुक्त व्यवस्था मिलाउन निर्देशन दिएको हो । ‘बिहिबार सेयर कारोबार नहुँदा आफ्नो ध्यानाकर्षण भएको पनि बोर्डले उल्लेख गरेको छ ।
धितोपत्र दलाल व्यवसायीहरुको कारोवार प्रणालीमा मिति २०७४।०३।१५ गते कुनै मूल्य अंकित नगरेको तथा कारोवार नगरेको भन्ने नेपाल स्टक एक्सचेन्ज लि.(नेप्से)बाट जानकारी गराइएकोमा सो सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ ।’, बोर्डले भनेको छ । कारोबार रोकिँदा पुँजी बजार, लगानी कर्ता र समग्र अर्थतन्त्रमैm नकारात्मक असर परेकाले बोर्डले बजार खोल्न निर्देशन दिनु परेको पनि स्पष्ट पारेको छ ।
‘धितोपत्रको दोस्रो बजार कारोवार नहुँदा यसबाट पूँजीबजार, लगानीकर्ता र समग्र अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूलप्रभावको संवेदनशीलतालाई समेत दृष्टिगत गरी धितोपत्रको दोस्रो बजारको फ्रन्ट लाइन रेगुलेटरको रुपमा रहेको नेप्सेलाई तत्काल कारोवार सुचारु हुने व्यवस्था गर्न निर्देशन दिईएको छ ।’बोर्डले भनेको छ । तर चार बर्षदेखिको ब्रोकर कमिसनबाट भ्याट असुल्ने आन्तरिक राजश्व विभागको निर्णय नसच्चिएसम्म कारोबार नखोल्ने अडानमा ब्रोकरहरु रहेका छन् ।
ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पुरानो ब्रोकर कमिसनमा भ्याट लिने निर्णय सच्चियएपछि मात्रै कारोबार खोल्ने स्पष्ट पारेका छन् । उनले लगानी कर्तासँग असुली नगरिएको भ्याट रकम कुनै हालतमा नतिर्ने घोषणा पनि गरेका छन् । अब हेर्न बाँकी छ आइतबार सेयर बजार खुल्छ की खुल्दैन् ।