
प्रियराज रेग्मी, अध्यक्ष, नेपाल सेयर ब्रोकर एशोसिएशन
विहीबार सम्पूर्ण सेयर कारोबार बन्द गराउनुभयो, आईतबार खुल्छ कि खुल्दैन ?
हामी बजार सुचारु गर्न प्रयास गरिरहेका छौं । आज (शुक्रबार) हामीले नेप्से, एफएनसीसीआई, चेम्बर अफ कमर्श, आन्तरिक राजश्व विभाग र सम्बन्धित करदाता सेवा कार्यालयका प्रमुखहरुसँग छलफल गर्यो । अर्थमन्त्री र राजश्व सचिवसँग पनि कुरा भयो ।
कुरो मिल्यो त ?
आधा मिल्यो, आधा मिलेको छैन । अर्थमन्त्रीले समस्या समाधान गर्न कर प्रशाशनलाई निर्देशन दिएको बताउनु भएको छ । कर प्रशासनको भनाई पनि सकारात्मक छ । ‘हामीले भ्याट लगाउने हो भने ५२/५३ सालदेखि नै लगाउँथ्यौ । हामीले भ्याट लाग्दैन भनेर नलगाएको हो । तर महालेखाले भ्याट लाग्छ भनेको छ । महालेखाले ब्रोकर कम्पनीहरुसँग भ्याट उठाउनु पर्छ भनेर बेरुजु देखाएपछि कर प्रशासन महालेखाको निर्णय र निर्देशन पालना गर्न बाध्य भएको हो’ भन्ने भनाई कर प्रशासनका अधिकारीहरुको रह्यो ।
यो समस्या गम्भीर छ, हामी समाधानको प्रयास गर्छौ, तर तपाईहरुले सेयर कारोबार बन्द गर्न मिल्दैन, बजार सञ्चालन पनि गरौं, समस्या समाधान तर्फ पनि काम गरौं भन्ने उहाँहरुको भनाई आयो । कारोबार बन्द भईरह्यो भने समस्या समाधान गर्न झन् कठिन हुन्छ भन्ने उहाँहरुको भनाई आयो ।
विहीबार कारोबार बन्द गरेर ब्रोकर कम्पनीहरुले गल्ती गरेका छन् । त्यसैले पहिला कारोबार खुला गरेर गल्ती सच्याउनु भन्ने सरकारी अधिकारीहरुको भनाई हो ?
त्यस्तो होइन । कारोबार बन्द भयो, त्यो आफ्नो ठाउँमा छ । तर कारोबार बन्द हुनु हुँदैन भन्ने उहाँहरुको भनाई हो । गल्ती कसले गर्यो भन्ने कुरा भएन । ‘यो समस्याबारे हाम्रो पनि समयमा नै प्रयाप्त ध्यान गएन’ भन्ने भनाई सरकारी अधिकारीहरुको छ ।
विहीबार कारोबार बन्द गरेर हामीले गल्ती गर्यौं भन्ने ब्रोकर एसोसिएशनलाई लाग्दैन ?
हामीले यो समस्या विगत तीन वर्षदेखि उठाउँदै आएका हौ । हामीले आन्तरिक राजश्व विभाग, अर्थमन्त्रालय, अर्थमन्त्री सबैलाई पटक पटक भेटेर समस्या अवगत गराएका हौ । हाम्रा माग र सुझाव पत्र दिएका हौं । तर समस्याको समाधान भएन । अहिले समस्या सबैले बुझ्ने गरी उजागर भएको छ । फेरी पनि समस्याको समाधान बजार बन्द गरेर होइन भन्नेमा हामी सबै सचेत छौं ।
ब्रोकरहरुले नउठाएको भ्याट तिर भनेर कर प्रशासनका अधिकारीहरुले पत्र काट्नु पनि गल्ती हो भन्ने महसुश भयो ?
महालेखाले भ्याट उठाउन सरकारले निर्देशन दिएपछि हामीले मान्नै पर्छ भन्ने उहाँहरुको भनाई हो । समस्या टुङ्गोमा पुर्याउन सबैले सामूहिक प्रयास गरौं भन्ने कुरा भयो ।
अब ब्रोकरले भ्याट तिर्ने कि ननिर्ते त ?
राज्यले भ्याट लगाउँछ भने नागरिकले नतिर्ने भन्ने कुरा भएन । विषय के हो भने लगानीकर्तासँग ब्रोकर कम्पनीले भ्याट उठाउने कि नउठाउने भन्ने हो । सरकारले भ्याट उठाउनुपर्छ भनेर भन्छ भने हामी उठाउन तयार छौं ।
चार वर्षअघि देखिको भ्याट तिर्नु भनेर ब्रोकरहरुलाई पत्र काटेको अवस्थामा पुरानो भ्याट तिर्ने कि नतिर्ने ?
तिर्ने नि नतिर्ने भन्ने विषय नै होइन । हामी तिर्नै सक्दैनौं । यो हाम्रो सामथ्र्य भन्दा बाहिरको कुरा हो ।
तिर्ने पर्यो भने जम्मा कति तिर्नुपर्छ ?
अहिलेसम्म तीन वटा कम्पनीको बेरुजु देखाइएको छ । त्यसमा एउटाका ६०÷७० लाख छ । अरुको करोडभन्दा माथि छ ।
सरकार तिर्नैपर्छ भन्यो भने ?
तिर्नैपर्छ भन्यो भने सुसाईड (आत्महत्या) गर्ने ।
आईतबारदेखि सेयर कारोबार हुन्छ ?
शनिबार ब्रोकर एसोशिएशनको बैठक बस्दैछ । शुक्रबार भएका छलफल र प्रगतिबारे हामी सबै ब्रोकर सदस्यहरुलाई जानकारी गराउँछौं । सर्बसहमतिमा कारोबार बन्द भएको हो, सामूहिक निर्णयका आधार कारोबार गर्ने वा नगर्ने निर्णय गर्छौ ।
आइतबारदेखि बजार खोल्ने भनेर सरकारसँग सहमति गरिसक्नु भएको होइन र ?
सहमति भएको छैन । सरकारको पक्षबाट बजार खुलाउन आग्रह भएको छ । ब्रोकर एशोसिएशनका सदस्यहरुबीच छलफल पछि मात्र निर्णय हुन्छ ।
आईतबार बजार खुल्यो भने तपाईहरुले जारी गर्ने विलमा भ्याट जोडिएको हुन्छ कि हुँदैन ?

बजार खुल्यो भनेपनि भ्याटविल जारी हुँदैन । हामी भ्याटमा दर्ता भएका पनि छैनौं र तत्काल भ्याटमा हामी दर्ता पनि हुँदैनौं ।
सेयर कारोबारमा लाग्ने कमिशन ब्रोकरले मात्र लिने होइन, त्यो रकम नेप्सेमा पनि जान्छ, सेबोनमा पनि जान्छ, सीडीएसमा पनि जान्छ । भ्याट तिर्ने आमलगानीकर्ता पनि भ्याट तिर्न तयार हुनु पर्यो ।
विश्व पुँजीबजार भ्याट लागेको पाइन्छ कि नलागेको पाइन्छ ?
९९ प्रतिशत बजारमा भ्याट छैन । १ प्रतिशत बजारमा भ्याट छ पनि । १ प्रतिशतलाई हेरेर नेपालमा पनि भ्याट लागू गरियो भने हामीले भन्नु केही छैन ।
ब्रोकर कमिशनमा भ्याट लगाउन खोज्दा यत्रो हंगामा मच्चियो, लगानीकर्तालाई लाग्दै आएको पुँजीगत लाभकरको विषय चाही तपाईहरुले आवाज उठाउनु पर्दैन ?
पुँजीगत लाभकर त लगानीकर्ताले नाफामा तिर्ने कर हो ।
लगानीकर्ताले एउटा कम्पनीमा १० हजार नाफा गर्दा अर्को कम्पनीको २० हजार नोक्सान गरेको हुन्छ । बास्तवमा उसले १० हजार गुमाएको हुन्छ तर १० हजार कमाएको भनेर ५ प्रतिशत कर तिर्नुपर्छ । नोक्सान भएपनि ब्रोकरलाई कमिशन बुझाउनैपर्छ । लगानीकर्तालाई परेको मर्काबारे तपाईहरुले बोल्नु पर्दैन ?
कर प्रणाली नै यस्तै छ । हामीले के भन्ने ?
लगानीकर्तालाई मर्का पर्दा चाही कर प्रणाली नै यस्तै छ भन्ने, ब्रोकर कमिशनमा भ्याट लाग्दा चाहि ब्रोकरहरु सिण्डकेट गरेर बजार बन्द गराउने ? यहि हो तपाईहरुको नीति ?
हामीले समग्र बजार हितको कुरा उठाएको छौं । भ्याट लाग्ने पनि अन्तिममा लगानीकर्ता माथि नै हो । त्यसैले भ्याट लाग्न हुँदैन । त्यस्तै, पुँजीगत लाभ करको विषय पनि हाम्रो धारणा के हो भने सबै लगानीकर्तालाई कि प्यान नम्बर कि परिचयपत्र नम्बर दिनुपर्छ । त्यसको आधारमा वर्षभरी हुने कारोबारको आफै हिसाव बुझाउने र नाफा भएको पुँजीगत कर लगाउने व्यवस्था गर्नुपर्छ । त्यसमा घाटा नाफा दुबै गणना हुन्छ ।