काठमाडौं । जीएसटी अर्थात गुड्स एण्ड सर्भिस ट्याक्सको अर्थ वस्तु तथा सेवा कर हुन्छ । भारतले जुलाई १ तारिख देखि देशभर एकल कर प्रणाली अर्थात जिएसटी सिस्टम कार्यान्वयन गरेको छ । भारत स्वतन्त्र भएपछि पहिलो भएको कर प्रणालीमा आमुल परिवर्तन भएको प्रचार मोदी सरकारले गरेको छ । तर विपक्षी काँग्रेस आईले जिएसटी कर प्रणालीको बिरोधमा र्याली तथा सभाहरुको आयोजना गरिरहेको छ ।
अब भारतका १३२ करोड नागरिकले वस्तु र सेवामा एउटा कर मात्रै तिर्नेछन् । अहिलेसम्म एउटै सेवा वा वस्तुमा भारतको केन्द्र सरकार र राज्य सरकारले २० भन्दा बढि शिर्षकमा कर असुलिरहेका थिए । अब भारतमा सेवा कर, केन्द्रिय बिक्रि कर, राज्य बिक्रि कर र भ्याट खारेज भएका छन् । अहिले भारतीय नागरिकहरुले कुनै पनि वस्तु वा सेवामा ३० देखि ३५ प्रतिशतको कर बिभिन्न शिर्षकमा तिरिरहेका छन र त्यो दर कुनै कुनैमा त झन ५० प्रतिशतसम्म पुग्ने गरेको छ । तर अब भारतीय नागरिकले १८ प्रतिशत कर तिरे पुग्नेछ ।
जिएसटीले म्यानुफ्याक्चरिङ क्षेत्रको लागत र समय दुबै बचत हुने दावी गरिएको छ । त्यति मात्रै होइन, बिशेषज्ञहरुले जिएसटी लागु भएपछि जीडीपी समेत १ देखि २ प्रतिशतले स्वतः बढ्ने दावी पनि गरेका छन् ।
फाइदाहरु
१) जिएसटी लागु भएपछि भारतमा घर र कार खरिद सस्तो भएको छ । साना कार तथा एसयुभीमा लाग्दै आएको ३० देखि ४४ प्रतिशतसम्मको कर घटेर अब १८ प्रतिशतमा सिमित भएको छ । अब भारतमा साना कारहरु ४५ हजार भन्दा सस्तो हुनेछ ।
२) घर खरिदमा पहिलो सेवा कर र भ्याट दुबै असुलिन्थ्यो तर अब जीएसटीले एउटा मात्रै कर तिरे हुने बनाईदिएको छ ।
३) रेष्टुरेन्टको खाना पनि अब सस्तो हुनेछ । हाल भारतका बिभिन्न राज्य सरकारहरुले फरक फरक दरका भ्याट र सेवा शुल्क असुल्दै आएका थिए तर अब एउटा कर मात्रै लगाउन पाउनेछन् ।
४) एयरकण्डिसनर, माइक्रो वेभ र बासिङ मेसिन लगायतका घरेलु उपकरणमा लाग्दै आएको १२.५ प्रतिशत अन्तशुल्क र १४.५ प्रतिशत भ्याट हटेर १८ प्रतिशत जिएसटी मात्रै लाग्ने भएको छ ।
५) ढुवानी भाडा पनि २० प्रतिशतसम्म घट्ने छ जसले भारतको मुल्य वृद्धिलाई नियन्त्रण गर्नेछ ।
६) उद्योगहरुले तिर्दै आएको १८ प्रकारका कर घटेर एउटामा सिमित भएको छ जसले समय र पैसा दुबै बचत हुनेछ ।
बेफाइदाहरु
१) जिएसटीले केहि बर्षसम्म भने महंगी बढाउने आशंका पनि गरिएको छ ।
२) प्याकेटमा भरिने उत्पादनमा अधिकांश राज्यले ४ देखि ६ प्रतिशतसम्म कर लगाउने गरेका थिए तर अब त्यो १८ प्रतिशत पुगेको छ ।
३) गहनामा ३ प्रतिशत शुल्क र तयारी पोशाकमा ४ देखि ५ प्रतिशत स्टेट भ्याट लाग्दै आएको थियो तर अब १८ प्रतिशत जिएसटी लागु भएपछि गहना र कपडाको मुल्य वृद्धि हुनेछ ।
४) यस अघि छुट गरिएको मूल्यमा कर लाग्दै आएको थियो तर अब एमआरपीमै कर लागु हुनेछ ।
५) अब सबै प्रकारका सेवा महंगो हुनेछन् । हालसम्म मोबाइल फोन र क्रेडिट कार्ड सेवामा १५ प्रतिशत मात्रै कर थियो तर अब यो बढेर १८ प्रतिशत पुगेको छ ।