काठमाडौं । अर्थ मन्त्रालयले ब्रोकर कम्पनीहरुसँग पुरानो कारोबारको भ्याट नलिने मौखिक सहमति गरेपछि आइतबारदेखि सेयर कारोबार खुल्न भएको छ ।
शनिबार राजश्व सचिव शिशिर ढुंगाना र ब्रोकर एसोसियसनबिच भएको छलफलमा त्यस्तो सहमति भएको हो ।
सहमतिसँगै आइतबारबाट सेयर कारोबार नियमित रुपमा सञ्चालन हुने ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले बताए । ‘अर्थ सचिवले हाम्रो समस्या समाधान गर्ने आश्वासन दिनु भएको छ, अब आइतबारबाट सेयर कारोबार खुल्छ’, ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने ।
आन्तरिक राजश्व विभागले महालेखा परिक्षकको रिपोर्टका हवाला दिँदै ब्रोकर कम्पनीहरुसँग चार आर्थिक बर्षको कमिसनमा भ्याट असुल्ने भन्दै पत्राचार गरेको थियो । ब्रोकरहरुले लगानी कर्तासँग आफुहरुले भ्याट असुली नगरेकाले विभागलाई भ्याट नतिर्ने भन्दै असार १५ गते बिहिबार सेयर कारोबार बन्द गरेका थिए ।