काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले बैंक तथा वित्तीय संस्थाको लागि दुई वर्षअघि तोकेको न्यूनतम चुक्ता पुँजी अहिलेको सन्दर्भका कम भईसकेको बताएका छन् । महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंक मर्जभई महालक्ष्मी विकास बैंकको नाममा एकिकृत कारोबार शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले भने–‘दुई वर्षमा नेपालमा धेरै परिवर्तन भईसकेको छ । विश्वले प्रशंशा गर्ने आर्थिक वृद्धि (७.२ प्रतिशत) हासिल भएको छ । लगानीको अवसर प्रशस्त खुला भएको छ । बैंकहरुमा ठूला ठूला कर्जाको माग भएको छ । दुई वर्षअघि तोकेको न्यूनतम पुँजी अव कम हुन सक्छ, बढाउनु पर्ने हुन सक्छ ।’

‘संघीयताको कार्यान्वयसँग गठन भएको ७४४ वटा स्थानीय तहमा तत्काल बैंकको आवश्यकता छ । ५०० भन्दा बढी स्थानमा बैंक पुगेका छैनन् । ती सबै स्थानमा ठूलो बजार निर्माण हुँदै छ । बैंकहरुको लागि धेरै राम्रो अवसरहरु आएका छन्’ गभर्नर नेपालले भने–बैंकहरुको शाखा पनि विस्तार हुन्छ, लगानी पनि विस्तार हुन्छ । यस अवस्थामा बैंकको सेयर पुँजी पनि बढाउनु पर्ने हुन्छ ।’
बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानीको गुणस्तर नियमनमा राष्ट्र बैंकले ध्यान दिने उनले बताए । ‘राष्ट्र बैंकले कर्जा लगानीका प्राथमिकताको क्षेत्र तोकिसकेको छ । त्यस क्षेत्रमा बैंकले लगानी कति गरे ? हामी हेर्छौ । घुमाउरो बाटोबाट अनुत्पादक क्षेत्रमा लगानी गरेको पाइएमा कारवाही गर्छौ’ गभर्नर नेपालले भने ।
सो अवसरमा बैंकका अध्यक्ष राजेश कुमार उपाध्ययले राष्ट्र बैंकको तोकेकै अवधिमा महालक्ष्मी विकास बैंकले २ अर्ब ६३ करोड चुक्ता पुँजी पुर्याएको, निक्षेप २४ अर्ब भएको, कर्जा २० लगानी भएको, शाखा ६५ वटा भएको, एटीएम ३६ वटा भएको, कर्मचारी ६ भन्दा बढी भएको, ग्राहक संख्या ३ लाख ६४ हजार भन्दा बढी भएको बताए ।
विकास बैंकर्स संघका अध्यक्ष भरतराज ढकालले मौद्रिक नीति खुकुलो हुनु पर्ने, विकास बैंकको अधिकार क्षेत्र वाणिज्य बैंक सरह हुनु पर्ने, विकास बैंकले बैंक ग्यारेन्टी दिन पाउने, स्थानीय तहमा सरकारको संचित खाता खोल्न पाउने व्यवस्था नयाँ मौद्रिक नीतिमा ल्याउन गभर्नरसँग माग गरे ।
वित्तीय क्षेत्र विकास रणनीतिपत्रमा यूनिभर्सल बैकिङको कुरा आएको तर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, राष्ट्र बैंकका नीति निर्देशनका पनि केही उल्लेख नभएकोले धेरै भ्रम र आशंका फैलिएको बताउँदै यस विषयमा मौद्रिक नीति मार्फत प्रष्टता परिदिन उनले आग्रह गरे ।