काठमाडौं । नेपाल टेलिकमले बनाउने भनिएको धरहराको लागत ४ अर्ब रुपैंयाँ नाघ्ने देखिएको छ । पुरातत्व विभागले नयाँ धरहराको लागत ३ अर्ब ६७ करोड १९ लाख १२ हजार ५ सय ६८ रुपैंयाँ १६ पैसा प्रक्षेपण गरेको थियो । नेपाल टेलिकमले त्यसमा आम्दानी बढाउन बाह्य क्षेत्रमा केहि नयाँ संरचना निर्माण गर्नुपर्ने बताएपछि धरहराको लागत ४ अर्ब नाघ्ने देखिएको हो ।

‘हामीले तयार पारेको डिजाइनमा टेलिकमले व्यवसायीक प्रयोजनका केहि संरचना थप्नुपर्छ भनेको छ, त्यस्तो संरचनाको प्रस्ताव तयार पारिरहेको छ, ४५ करोड देखि एक अर्बसम्म लागत बढ्न सक्छ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले भने । उनले धरहराको मुल डिजाइनलाई नफेर्ने गरि बाह्य क्षेत्रमा केहि संरचना निर्माण गर्न सकिने बताए ।
‘हामीले पुरातत्वको मूल्य अनुसार धरहराको डिजाइन तयार पारेका छौं, मुल धरहराको डिजाइनमा कुनै परिवर्तन हुन्न तर बाह्य क्षेत्रमा केहि संरचना निर्माण गर्न सकिन्छ’, घिमिरेले भने । घिमिरेका अनुसार टेलिकमले धरहराको नजिकै व्यवसायीक प्रयोजनका केहि भवन निर्माण गर्नुपर्ने बताएको छ । टेलिकमले धरहराबाटै आम्दानी गरेर लागत उठाउनुपर्ने भएकाले आम्दानी बढाउने संरचना निर्माणमा जोड दिएको पनि उनले जानकारी दिए ।

विभागले ४० रोपनी जमिनमा २४५ फिट अग्लो ११ तल्ले धरहराको डिजाइन तयार पारेर संस्कृति पर्यटन मन्त्रालयलाई बुझाएको थियो । मन्त्रालयले डिजाइन अनुसार व्यवसायीक मोडालिटी तयार पार्न भनेर टेलिकमलाई डिजाइन बुझाएको थियो । नयाँ धरहरामा म्युजियम, पार्किङ वाटर फाउण्टेन सुबिधा सम्पन्न क्याफे र लाइब्रेरी लगायतको सुबिधा हुने विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए ।
नेपाल टेलिकमले ३० बर्ष सञ्चालन गरेर सरकारलाई धरहरा बुझाउनेछ । टेलिकमले यतिबेला धरहराको व्यवसायीक मोडलबारे अध्ययन गरिरहेको छ ।