काठमाडौं । पशुपंछी विकास मन्त्रालयले ‘लाइभस्टक इनोभेसन पोजेक्ट’ सञ्चालन गर्ने तयारी गरेको छ । करिव आठ अर्ब रुपैयाँका लगानीमा मन्त्रालयले सो कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव अघि सारेको हो । पशुपन्छीको व्यवसायीकरण गरी एक नाफामूलक व्यवसायको रुपमा विकास गर्न सो प्राजेक्ट अघि सारिएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिए ।
‘यो परियोजनाले देशलाई आत्मनिर्भर बनाउन सघाउँछ,’उनले भने ‘दुध, डेरी, मासु तथा च्यांग्रा पश्मिनाको उत्पादन तथा प्रशोधनमा परियोजनामा केन्द्रीत हुनेछ ।
साथै पशुपन्छी सम्बन्धि समय सापेक्ष नीति नियम तर्जुमा गर्न, अत्याधुनिक प्रयोगशाला निर्माण गर्न, खोप तथा उन्नत नश्ल सुधारका परियोजना सञ्चालन गर्न उक्त रकम खर्च गर्ने मन्त्रालयको योजना छ । गुणस्तर खाद्य स्वच्छतालाई ध्यानमा राखेर कार्यक्रमहरू प्रर्वद्धित हुनेछन् । च्यांग्रा पश्मिना उत्पादन बढाउन तथा प्रशोधन गर्न प्राय सबै हिमाली जिल्लाहरूमा परियोजना लागू गर्ने बताइएको छ । साथै १० वर्षे कृषि रणनीतिमा पशुपंछी मन्त्रालयअन्र्गत परेका कार्यक्रमहरूलाई कार्यान्वयनमा लैजान पनि मन्त्रालयलाई ठूलो रकमको आवश्कता पर्ने उनको भनाइ छ ।
उक्त कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले विश्व बैंकसँग ऋण सहयोग माग गरिदिन अर्थ मन्त्रालयसँग अनुरोध गरेको छ । परियोजनाको प्रस्तावना फाइल अर्थ मन्त्रालय आएपछि अर्थले ऋण सहयोगका लागि फाइल अघि बढाउने छ ।
सरकार ग्यारेन्टी बसेर ऋण सहयोगका लागि अर्थ मन्त्रालयले फाइल अघि बढाउने हो,’ अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव सूर्यप्रसाद पोखरेलले भने । कार्यक्रम गर्नका लागि ऋण सहयोग उपलब्ध गराउन हामी विश्व बैंकसँग आग्रह गछौं ।
किसानहरुलाई पशुपालनतर्फ आकर्षित गरी व्यवसायिकरण र बजारीकरण गर्न उक्त कार्यक्रम अघि सारिएको हो । मन्त्रालयले यस अघिनै ४० बुँदे घोषणा पत्र जारी गरेर किसानहरुलाई गोठाले नबनाएर मालिक बनाउन प्रतिवद्धता जाहेर गरिसकेको छ । गोठदेखि ओठसम्म स्वस्थता सवाललाई उठाएर मन्त्रालयले पैसा तिरेर उपभोग गर्ने पशुजन्य उत्पादन स्वस्छ र स्वस्थ हुनु पर्ने बताएको छ ।
आगामी तीन वर्षभित्र मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ । पशुपंछीजन्य पदार्थको आयात प्रतिस्थापन गरी उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य मन्त्रालयले लिएकोे हो । अण्डा, मासु र दूधमा क्रमशः एक, दुई र तीन वर्षभित्र आयात प्रतिस्थापन गरी आत्मनिर्भर बनाउन मन्त्रालयले आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याउने जनाएको छ । त्यस्तै पशुपन्छी मन्त्रालयले एक प्रदेश, एक नमुना पशु अस्पताल निर्माण गर्ने भएको छ । पशुपन्क्षी नश्ल सुधार, पौष्टिक दाना, आहाराको व्यवस्था सरल बनाउनुको साथै एकीकृतरुपमा अगाडी बढाउने कार्यक्रम तर्जुमा गर्ने जनाइएको छ ।