काठमाडौं । काठमाडौंबाट पुर्वी तराई जोड्ने सबै भन्दा छोटो विपी राजमार्गको विस्तारबारे बिभिन्न विकल्पमाथी छलफल सुरु भएको छ । खुर्काेटदेखि सिन्धुली बजारसम्मको ३६ किलोमिटर खण्डमा सडक विस्तार गर्न नमिल्ने भएपछि सुरुङको विकल्पबारे छलफल सुरु भएको हो । १५८ किलोमिटर लामो विपी राजमार्गको खुर्काेट देखि सिन्धुली बजारसम्मको ३६ किलोमिटर खण्डलाई सबै भन्दा जोखिमपुर्ण मानिन्छ । सो खण्डमा सडक विस्तार गर्नै नमिल्ने गरि एउटा सडकको किनारामा अर्काे सडकको जग अड्याइएको छ ।
खुर्काेटबाट सुरु हुने विपी राजमार्गको अप्ठेरो बाटो सिन्धुली बजार नजिकै पुगेर टुंगिन्छ । ‘खुर्काेटदेखि सिन्धुली बजारको फेदीसम्म ३६ किलोमिटर लामो कठिन सडकलाई छिचोल्न खुर्काेटबाट सुरुङ खन्ने हो भने चार किलोमिटरमा पुगिन्छ’, सिन्धुलीका सांसद गणेश पहाडीले भने । उनले सो खण्डमा सुरुङ बनाउन सके विपी राजमार्गलाई पनि चार लेनसम्म विस्तार गर्न सकिने दावी पनि गरे ।
सडक विभागको सुरुङ फाँटका प्रमुख सञ्जय कुमार श्रेष्ठले पनि खुर्काेटदेखि सिन्धुली गढीको दक्षिण फेद निस्कने गरि सुरुङ बनाउन सकिने बताए । त्यसबारेमा जापानी सहयोग नियोग(जाइका)सँग प्रारम्भिक चरणको छलफल समेत भैसकेको उनले बताए । ‘खुर्काेटदेखि सिन्धुली गढीको दक्षिण फेदसम्म सडक चौँडा गर्न सकिन्न, त्यसकारण पनि सुरुङको विकल्प छैन, हामीले छलफल अघि बढाईसकेका छौं’, श्रेष्ठले भने । एउटा सडकको किनाराबाटै वाल उठाएर सडक लगिएकाले विस्तार असम्भव भएको उनले बताए ।
जाईकासँग बिभिन्न चरणमा छलफल भएको र सडक विभागले नै पनि अध्ययन अघि बढाउने तयारी गरेको पनि उनले जानकारी दिए । जापानी सहयोगमा २५ अर्ब खर्चेर निर्माण गरिएको बीपी राजमार्ग साघुँरो भएको र दुर्घटना पनि बढेको भन्दै ठुला सवारी साधन गुडाउन रोक लगाइएको छ । ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएपछि नागरिकले राजमार्गबाट लाभ लिन नसकेको गुनासो बढिरहेको छ । ३६ किलोमिटर अप्ठेरो सडकमा सुरुङ खनेर अन्य खण्डमा सडक विस्तार मार्फत वीपी राजमार्गको स्तरोन्नति आवश्यक रहेको सांसद पहाडीले बताए ।